२०८३, आश्विन १९ गते

images
  • समाचार
  • बजारदेखि सवारीसाधनको अनुगमनमा धादिङका सीडीओ, छतमा...

बजारदेखि सवारीसाधनको अनुगमनमा धादिङका सीडीओ, छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

बजारदेखि सवारीसाधनको अनुगमनमा धादिङका सीडीओ, छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मंगलवार, आश्विन २२ २०८१०८:३१
मंगलवार, आश्विन २२ २०८१०८:३१
  • images

    काठमाडौँ । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

    यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । 

    खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर २० हजार रुपैयाँसम्म जरिवाना गराइएको छ । पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

    प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढङ्गबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् ।

    केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ । 

    अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

    सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जिपलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरिएको छ । क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिए ।

    चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend