२०८३, श्रावण २५ गते

images
  • समाचार
  • सामाजिक सद्भाव कायम गर्न महासंघको आह्वान,...

सामाजिक सद्भाव कायम गर्न महासंघको आह्वान, प्रदेश र जिल्ला संघलाई सक्रिय हुन निर्देशन

सामाजिक सद्भाव कायम गर्न महासंघको आह्वान, प्रदेश र जिल्ला संघलाई सक्रिय हुन निर्देशन

images
शुक्रवार, श्रावण १५ २०८३०२:२९
शुक्रवार, श्रावण १५ २०८३०२:२९
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित भएको अशान्त वातावरण र सामाजिक तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव कायम गर्न आफ्ना सबै प्रदेश महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।

    महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा वर्तमान तनावपूर्ण अवस्थालाई शीघ्र सामान्य बनाई दिगो शान्ति स्थापना गर्न सबै सरोकारवाला पक्षलाई संयमता अपनाउन आग्रह गरिएको जनाएको छ। साथै, स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका नेतृत्वसँग समन्वय गरी भाइचारा, सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न सक्रिय पहल गर्न मातहतका सबै संगठनलाई निर्देशन दिइएको छ।

    महासंघले आवश्यक परे स्थानीय प्रशासनको समन्वय र स्वीकृतिमा सद्भाव र्‍याली लगायतका कार्यक्रम सञ्चालन गरी समाजमा शान्ति र एकताको सन्देश फैलाउनसमेत प्रदेश महासंघ तथा जिल्ला/नगर संघलाई आग्रह गरेको छ।

    महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले कुनै पनि प्रकारका मतभेद वा असमझदारीको समाधान हिंसाबाट नभई संवाद, आपसी समझदारी र शान्तिपूर्ण वार्ताबाट मात्र सम्भव हुने उल्लेख गर्दै सम्पूर्ण सदस्य व्यवसायी तथा उद्योग वाणिज्य संघहरूलाई आ–आफ्नो क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न अग्रसर हुन अपिल गरेका छन्।

    विज्ञप्तिमार्फत महासंघले पछिल्ला घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको उदाहरण रहेको स्मरण गराउँदै महासंघले कुनै पनि प्रकारको सामाजिक अशान्ति, झडप वा हिंसाले सर्वसाधारणको दैनिक जीवन मात्र नभई उद्योग, व्यापार, लगानी र समग्र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ।

    महासंघले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन नै आर्थिक समृद्धि र दिगो विकासको आधार भएको उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार, संयमित र सहिष्णु भएर सामाजिक एकता जोगाउन योगदान गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    भर्खरै
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend