काठमाडौँ । भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका कर्मचारी र लेखापढी व्यवसायीहरूको मिलेमतोमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
जग्गाको बकसपत्र गराउने काममा अनावश्यक दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका वडा नं। ४ स्थित एक होटलबाट उनीहरूलाई सेवाग्राहीबाट घुसबापत ३ लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा भूमि प्रशासन कार्यालय लगनखेलका नायब सुब्बाहरू उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायीहरू शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन्।
अख्तियारको टोलीले घुस रकम तीन लाख रुपैयाँका साथै स्रोत खुल्न नसकेको चौबीस हजार आठ सय नब्बे रुपैयाँसमेत बरामद गरेको छ।
नियन्त्रणमा लिइएका उनीहरूमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

