काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित आफू सम्बन्धी समाचारहरू भ्रामक, आधारहीन र एकपक्षीय रहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बैंकले सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी, कर्जा प्रक्रिया तथा नियामकीय अनुपालनसँग सम्बन्धित विषयमा प्रकाशित सामग्रीले बैंकको प्रतिष्ठा, सेवाग्राहीको विश्वास तथा नियामकीय प्रक्रियामाथि अनावश्यक भ्रम सिर्जना गरेको जनाएको हो।
बैंकका अनुसार कर्जा स्वीकृति, कर्मचारी व्यवस्थापन, आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापनका सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित कानुन तथा बैंकको आन्तरिक नीतिअनुसार सञ्चालन हुँदै आएका छन्। साथै नियामक निकायसँग पूर्ण सहकार्य गर्दै आवश्यक अनुसन्धान तथा परीक्षणमा सहयोग गरिरहेको पनि बैंकले स्पष्ट पारेको छ।
विज्ञप्तिमा केही व्यक्तिसँग सम्बन्धित विषयमा विभिन्न निकायबाट अनुसन्धान भइरहे पनि त्यसलाई आधार बनाएर बैंकको समग्र संस्थागत प्रणालीमाथि प्रश्न उठाउनु उचित नहुने उल्लेख गरिएको छ। तथ्य र प्रमाणबिनाका समाचार प्रकाशन तथा प्रसारण नगर्न बैंकले सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
प्रभु बैंकले आफ्ना निक्षेपकर्ता, शेयरधनी, ग्राहक, कर्मचारी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति बैंकको वित्तीय अवस्था, सेवा प्रवाह तथा सञ्चालन सुरक्षित, पारदर्शी र नियमित रहेको विश्वास दिलाएको छ। साथै बैंकसँग सम्बन्धित आधिकारिक सूचना तथा जानकारी बैंकका आधिकारिक माध्यमबाट मात्र लिन र अफवाहमा विश्वास नगर्न सबैमा अनुरोध गरेको छ।
बैंकले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताको सम्मान गर्दै निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको अपेक्षा समेत गरेको जनाएको छ।

