काठमाडौँ। सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयले प्रस्ताव गरेको नयाँ तलबमानलाई अनुमोदन गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको हो।
अर्थ मन्त्रालयले साउन ६ गते नयाँ तलबमानको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो। उक्त प्रस्तावलाई करिब १५ दिनपछि मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।
स्वीकृत तलबमानअनुसार अब मुख्य सचिवले मासिक ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन्, जुन निजामती सेवामा सबैभन्दा उच्च तलबमान हो। त्यस्तै, प्रथम तहका कार्यालय सहयोगीको मासिक तलब २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ, जुन सबैभन्दा न्यून तलबमान हो।
त्यसैगरी, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिवसरह ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गर्नुका साथै १० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त व्यवस्था साउन १ गतेदेखि लागू हुने गरी बजेटमार्फत घोषणा गरेका थिए।
यस्तै, पेन्सनधारी कर्मचारीको मासिक पेन्सनमा पनि १० प्रतिशत वृद्धि हुने व्यवस्था गरिएको छ। नयाँ तलबमान स्वीकृत भएसँगै कर्मचारी र पेन्सनधारीले साउन महिनादेखिको समायोजित सुविधा पाउने भएका छन्।


