२०८३, आश्विन २० गते

images
  • समाचार
  • बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले भनेः ‘नेपालमा...

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले भनेः ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, सरकार तपाईंहरूको साथमा उभिन्छ’

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले भनेः ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, सरकार तपाईंहरूको साथमा उभिन्छ’

सोमवार, श्रावण २५ २०८३०२:३१
सोमवार, श्रावण २५ २०८३०२:३१
  • images

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरूलाई लगानी विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न तथा रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्। उनले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

    आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सोमबार भएको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा हेर्ने स्पष्ट नीति रहेको बताए।

    उनले उद्योगी तथा व्यवसायीहरूलाई केवल सफल व्यवसायी वा कम्पनीका प्रतिनिधि नभई ठूला करदाता, रोजगारदाता, लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदारका रूपमा चित्रण गरे।

    “सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले होइन, साझेदारको दृष्टिले हेर्छ,” अर्थमन्त्री वाग्लेले भने, “निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार हो।”

    कर उठाउने मात्र होइन, लगानी र पुनःलगानी बढाउने लक्ष्य

    अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता अब केवल कर संकलन बढाउनु नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउनु रहेको बताए।

    उनका अनुसार उद्योगले नाफा कमाउँदा त्यसको पुनःलगानी हुन्छ। पुनःलगानीबाट उत्पादन बढ्ने, उत्पादन बढ्दा रोजगारी सिर्जना हुने र रोजगारीसँगै आम्दानी तथा बजार विस्तार हुने भएकाले अन्ततः राज्यको राजस्वसमेत बढ्छ।

    “सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग सम्बन्ध होइन। दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ,” उनले भने।

    ‘लगानीको सुरक्षा र स्थिरता सरकारको दायित्व’

    नेपालमा लगानी गर्न लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमेय रहेको अनुभूति गर्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ।

    उनले वैध लगानी, सम्पत्ति र नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै लगानीकर्तामा विश्वास सिर्जना नगरी ठूलो लगानी भित्र्याउन र उद्योग विस्तार गर्न नसकिने बताए।

    “त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन। त्यो विश्वास निर्माण नगरी उद्योग विस्तार हुँदैन। त्यो विश्वास निर्माण नगरी आर्थिक रूपान्तरण सम्भव हुँदैन,” उनले भने।

    ‘अझ ठूलो लगानी गर्नुहोस्’

    अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनी तथा निजी क्षेत्रलाई नेपालमा थप लगानी गर्न खुला आग्रह गरेका छन्।

    उनले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न, नयाँ प्रविधि भित्र्याउन तथा रोजगारीका थप अवसर सिर्जना गर्न निजी क्षेत्रलाई आग्रह गर्दै सरकार साथमा उभिने प्रतिबद्धता व्यक्त गरे।

    समस्या र सुधारका विषय खुलस्त राख्न आग्रह

    छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले व्यवसाय विस्तारका क्रममा भोगिरहेका समस्या र सरकारले तत्काल सुधार गर्नुपर्ने क्षेत्रबारे स्पष्ट धारणा राख्न आग्रह गरे।

    उनले कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियालगायतका क्षेत्रमा रहेका अवरोध पहिचान गर्नुपर्ने बताए।

    सरकारले आगामी छ महिनाभित्र गर्नुपर्ने महत्वपूर्ण पाँच निर्णयसमेत पहिचान गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

    “म आज केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु,” अर्थमन्त्री वाग्लेले भने।

    समस्या समाधानका लागि ‘रिस्पोन्स डेस्क’

    निजी क्षेत्रले उठाएका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरिने उनले बताए। अर्थ मन्त्रालयले ‘रिस्पोन्स डेस्क’ मार्फत निजी क्षेत्रका समस्या तथा सुझावको निरन्तर अनुगमन गर्ने उनको भनाइ छ।

    उनले बहुराष्ट्रिय कम्पनीसँगको छलफललाई एकपटकको कार्यक्रमका रूपमा मात्र नलिइने स्पष्ट पारे। समस्या समाधान नभएसम्म संवादको यो शृङ्खला निरन्तर अघि बढ्ने उनले बताए।

    ‘करदातालाई राजस्वको स्रोत मात्र होइन, राष्ट्र निर्माणको साझेदार मान्छौँ’

    अर्थमन्त्री वाग्लेले इमानदारीपूर्वक कर तिर्ने व्यवसायी तथा कम्पनीलाई सरकारले उच्च सम्मान दिने वातावरण निर्माण गर्न लागेको बताए।

    “सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्छ,” उनले भने।

    नेपालमा उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्नु सरकारको लक्ष्य रहेको उनले बताए।

    अर्थमन्त्री वाग्लेले आगामी दशकलाई ठूलो लगानी, ठूलो उत्पादन, ठूलो रोजगारी र ठूलो आत्मविश्वासको दशक बनाउने लक्ष्यसहित सरकार र निजी क्षेत्रबीचको साझेदारी अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend