२०८३, आश्विन १९ गते

images
  • शिक्षा
  • एसईईमा ४ जीपीए ल्याउने ८२ विद्यार्थीलाई...

एसईईमा ४ जीपीए ल्याउने ८२ विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

एसईईमा ४ जीपीए ल्याउने ८२ विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

सोमवार, श्रावण २५ २०८३०३:०५
सोमवार, श्रावण २५ २०८३०३:०५
  • images

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जीपीए ल्याउने ललितपुर महानगरपालिकाभित्रका ८२ जना विद्यार्थीलाई महानगरपालिकाले सम्मान गरेको छ।

    ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरेका हुन्। सम्मानित ८२ विद्यार्थीमध्ये ७ जना सामुदायिक विद्यालय र ७५ जना संस्थागत विद्यालयका रहेका छन्।

    महानगरपालिकाका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही २ लाख रुपैयाँ नगद प्रदान गरिएको छ। उत्कृष्ट नतिजा ल्याएका सामुदायिक विद्यालयलाई समेत नगदसहित सम्मान गरिएको छ भने संस्थागत विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको छ।

    कार्यक्रममा ४ जीपीए ल्याउने विद्यार्थी उत्पादन गर्ने ४ वटा सामुदायिक र २३ वटा संस्थागत गरी २७ विद्यालयलाई सम्मान गरिएको थियो।

    संस्थागत विद्यालयतर्फ जेम्स स्कुलका १७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्। त्यस्तै, सेन्ट जेभियर्स माध्यमिक विद्यालयका ८ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्।

    lalitpur samman1.jpg

    ४ जीपीए ल्याउने अन्य संस्थागत विद्यालयमा रातो बंगला, ओमेगा इन्टरनेशनल, लिटिल एन्जल्स, आदर्श विद्या मन्दिर लगायत रहेका छन्।

    त्यसैगरी सामुदायिक विद्यालयतर्फ श्री आदर्श शौल युवक माध्यमिक विद्यालय, श्री त्रिपद्मा विद्याश्रम माध्यमिक विद्यालय, श्री प्रभात माध्यमिक विद्यालय र श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीले ४ जीपीए ल्याएका छन्।

    सम्मान कार्यक्रममा महानगर प्रमुख महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताए। उनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको मेहनत र विद्यालयको योगदानको कदर गर्दै सम्मान गरिएको बताए।

    एसईईमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यो सम्मानले विद्यार्थीमा थप मेहनत गर्ने प्रेरणा मिल्ने तथा विद्यालयहरूबीच शैक्षिक उत्कृष्टताका लागि सकारात्मक प्रतिस्पर्धा बढ्ने महानगरको अपेक्षा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend