काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवै जनालाई थुनामा राख्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार दोस्रो मुद्दामा बयान तथा थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवै जनाको बयान तथा थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो।
पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवाललाई पनि प्रतिवादी बनाइएको थियो।
सोही मुद्दामा अदालतले पूर्वअर्थमन्त्री पौडेललाई भने साधारण तारिखमा छाड्ने आदेश दिएको छ। तर भट्ट र अग्रवाललाई भने मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
यससँगै एउटै सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरूमध्ये अदालतले फरक–फरक आदेश दिएको छ।

