काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र दुग्ध विकास संस्थानबीच दुध खरिदविक्री गर्ने बारे त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।
दुग्ध विकास संस्थान लैनचौरमा भएको सम्झौता अनुसार आगामी भदौ १ गते देखी केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवम् सदस्य किसानहरुले १५ हजार दुध दैनिक डिडिसीलाई उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौता अनुसार आगामी दिनमा दैनिक ६० लि. दुध डिडिसीलाई साझेदार संस्था एवम् सदस्य किसानहरुले डिडिसीलाई प्रदान गर्ने उल्लेख छ ।
डिडिसीले यि दुइ संस्थाका सञ्जाल मार्फत यस अघि दुध लियर तिर्न बाँकी रकम आगामी १ महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दुधको मात्रा र गुणस्तर सुरुवाती संकलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दुधको कन्भर्जको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौता पछिसंस्थानका महाप्रवन्धक डा. सरन कुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवद्र्धन गर्न यो सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनले सहकारीको मूलमर्मलाई स्थापित गर्न साना किसान कृषि सहकारी संस्थाहरुले गरेको योगदान प्रति उच्च प्रशंसा गर्दै यस सञ्जालसंग जोडिएर डिडिसीले काम गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए ।
डिडिसीमा विगतमा देखीका भुक्तानी लागयतका समस्याहरु अब नदोहोरीने भन्दै महाप्रवन्धक पाण्डेले नियमित भुक्तिानीको ग्यारेन्टि गरेरै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । साझा प्रयास र पहलबाट मात्र समृद्धि सम्भव रहेको भन्दै महाप्रवन्धक पाण्डेले यस सम्झौताले यी सबै बाटो खुलेको बताए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठकले किसानको आयआर्जन बढाउने उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रममा विगतका वर्षहरुदेखीनै आफूहरुले साथ सहयोग गर्दै अगाडि बढेको भन्दै यो सम्झौताले सहकार्यको अर्को ढोका खोलेको बताए ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष एकराज उप्रेतीले डिडिसीसंग भएको सम्झौताले नेपाली दुग्ध उत्पादक किसानहरुका लागि एैतिहासीक दिन भएको उल्लेख गरे । उनले सबै किसानहरुको जीवनमा आर्थिक रुपमा सवलता ल्याई मुहारमा खुसी थप्दै जान यो सम्झौताले सहयोग पुग्ने स्पष्ट पारे ।

