काठमाडौँ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ । सर्वोच्चले श्रेष्ठसँगै उनको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसमेत अदालतमा पेस गर्न आदेश दिएको हो ।
श्रेष्ठकी पत्नी सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रबार भएको सुनुवाइका क्रममा न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो ।
इजलासले श्रेष्ठलाई पक्राउ गर्नुको कारण तथा उनीसँग सम्बन्धित घटनाका क्रममा प्रहरीले बरामद गरेका सामग्रीबारे समेत अदालतमा स्पष्ट विवरण पेस गर्न भनेको छ । श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएका सामानसमेत अदालतमा ल्याउन आदेश दिइएको छ ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता रमेश बडालले बहस गरेका थिए ।
सर्वोच्चको आदेशसँगै अब भदौ १ गते हुने सुनुवाइमा श्रेष्ठको पक्राउको कानुनी आधार तथा उनीबाट बरामद सामग्रीका विषयमा थप छलफल हुने भएको छ । अदालतले सोही क्रममा सम्बन्धित पक्षको भनाइसमेत सुन्नेछ ।

