२०८३, आश्विन २० गते

images
  • समाचार
  • बाढी–पहिरो प्रभावितलाई तत्काल राहत दिन सरकारको...

बाढी–पहिरो प्रभावितलाई तत्काल राहत दिन सरकारको निर्देशन, चार जिल्लामा भौगर्भिक अध्ययन हुने

बाढी–पहिरो प्रभावितलाई तत्काल राहत दिन सरकारको निर्देशन, चार जिल्लामा भौगर्भिक अध्ययन हुने

आइतवार, श्रावण ३१ २०८३०३:१८
आइतवार, श्रावण ३१ २०८३०३:१८
  • images

    काठमाडौं । सरकारले पछिल्लो समय मनसुनजन्य विपद्का कारण प्रभावित बनेका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै खोज, उद्धार र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    मनसुन प्रतिकार्य कमाण्ड पोष्टको साउन ३१ गते बसेको बैठकले बाढी, पहिरो लगायतका विपद्बाट प्रभावित क्षेत्रको अवस्था समीक्षा गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

    बैठकले मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट भएको क्षतिको समग्र अवस्थाबारे जानकारी लिँदै विपद्मा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी रूपमा निरन्तरता दिनसमेत आग्रह गरिएको छ।

    प्रभावित परिवारलाई तत्काल राहत दिन निर्देशन

    बैठकले विपद् प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेको छ। विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई तत्काल नगद वा वस्तुगत सहायता, मृतकका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचारलगायतका सुविधा उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहलाई अनुरोध गरिएको छ।

    त्यस्तै, विपद्बाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी अनुदान उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

    मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ अनुसार विपद् प्रभावित परिवारलाई राहत तथा अनुदान उपलब्ध गराउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आवश्यक समन्वय र सहकार्य गर्नसमेत भनिएको छ।

    सडक, खानेपानी र सिँचाइ तत्काल सञ्चालनमा ल्याउनुपर्ने

    विपद्का कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइ लगायत अत्यावश्यक सेवा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    त्यस्तै, नदी कटान तथा पहिरो नियन्त्रणका काम अघि बढाउनुका साथै विपद् प्रभावित परिवारलाई आवश्यक मनोसामाजिक परामर्श, स्वास्थ्योपचारलगायतका सेवा उपलब्ध गराउन पनि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको छ।

    चार जिल्लाका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन

    बैठकले पहिरो प्रभावित केही क्षेत्रको जोखिम मूल्यांकनका लागि भौगर्भिक अध्ययन टोली फिल्डमा खटाउने निर्णय पनि गरेको छ।

    निर्णयअनुसार रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिका–२ र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गरिनेछ।

    सम्बन्धित निकायको नेतृत्वमा गठन हुने अध्ययन टोलीलाई तीन दिनभित्र फिल्डमा खटाउने र टोलीमा जल तथा मौसम विज्ञान विभागबाट समेत प्रतिनिधित्व गराउने निर्णय बैठकले गरेको छ।

    मनसुन अझै सक्रिय, थप सतर्क रहन आग्रह

    सरकारले हाल मनसुन सक्रिय रहेको र देशका अधिकांश स्थानमा वर्षा भइरहेको अवस्थालाई मध्यनजर गर्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ।

    विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा लगातार वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम बढिरहेको तथा अन्य स्थानमा समेत बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानजस्ता जोखिम कायमै रहेकाले मनसुन अवधिभर उच्च सतर्कता अपनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

    बैठकले विपद् प्रतिकार्यमा आवश्यकताअनुसार विकास साझेदार संघसंस्था, नागरिक समाज, सञ्चार जगत्, निजी क्षेत्र, नागरिक तथा अन्य सरोकारवालासँग सहकार्य र समन्वय गर्न समेत आह्वान गरेको छ।

    सरकारले विपद्पछिको राहतमा मात्र सीमित नभई प्रभावित क्षेत्रको जोखिम पहिचान, पूर्वाधार पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend