२०८३, आश्विन २० गते

images
  • समाचार
  • आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक...

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया ठप्प

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका सबै प्रक्रिया ठप्प

सोमवार, भाद्र १ २०८३०८:०३
सोमवार, भाद्र १ २०८३०८:०३
  • images

    काठमाडौं । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गरेको छ।

    संघले म्यानपावर कम्पनीका कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय कार्यान्वयनमा ल्याएको हो। संघका अनुसार काठमाडौंस्थित मुख्य कार्यालयदेखि देशभरका शाखा कार्यालयसमेत बन्द रहनेछन्।

    यसअघि संघले चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि आजदेखि वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण काम–कारोबार ठप्प पारिएको संघले जनाएको छ।

    श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको संघको भनाइ छ। मन्त्रालयस्तरीय टोलीसँग छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले आफूहरूका समस्या प्राथमिकतामा नराखेको संघले आरोप लगाएको छ।

    संघका अनुसार आन्दोलनका कारण नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट तथा रिक्रुटिङका सम्पूर्ण प्रक्रिया बन्द हुनेछन्। यसैगरी पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारबाहीसमेत रोकिएको छ।

    संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र वैदेशिक रोजगार व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।

    विज्ञप्तिमा भनिएको छ, “हाम्रा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्ष फिर्ता वा स्थगित गरिने छैन।”

    संघले सरकारसँग वार्ता र संवादका लागि ढोका खुला रहेको जनाएको छ। तर, सरकारले ठोस कदम नचालेसम्म काममा नफर्कने अडान दोहोर्‍याएको छ।

    त्यस्तै, संघले आफ्ना सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। संघको निर्णय अवज्ञा गरी काम सुचारु राख्ने संस्थाको अभिलेख राखिने र त्यस्ता संस्थालाई भविष्यमा संघबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गरिने चेतावनीसमेत दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend