२०८३, आश्विन २० गते

images
  • समाचार
  • वैदेशिक रोजगार व्यवसायी संघले फिर्ता लियो...

वैदेशिक रोजगार व्यवसायी संघले फिर्ता लियो आन्दोलन

वैदेशिक रोजगार व्यवसायी संघले फिर्ता लियो आन्दोलन

सोमवार, भाद्र १ २०८३१२:२३
सोमवार, भाद्र १ २०८३१२:२३
  • images

    काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम फिर्ता लिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग भएको छलफलपछि संघले आजदेखि आफ्ना सबै आन्दोलनका कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको हो।

    संघले वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयलाई लिएर साउन २२ गतेदेखि विभिन्न चरणमा ध्यानाकर्षण तथा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो। साथै, गन्तव्य मुलुकमा श्रमिक पठाउने कार्य बन्द गर्ने विषयमा समेत संघले घोषणा गरेको थियो।

    मन्त्रालयमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा मन्त्रालयका सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, सल्लाहकारसहितका पदाधिकारीसँग छलफल भएको थियो। छलफलमा संघले अघि सारेका १५ बुँदे मागका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

    संघले राखेका अधिकांश माग वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको भन्दै ती मागलाई ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने मन्त्रालयले जनाएको छ।

    वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारको प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम पहल गर्ने सहमति भएको छ।

    त्यस्तै, समग्र मागका सम्बन्धमा कानुनबमोजिम व्यवसायीहरूले थप प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा आफ्ना विषयहरू राख्न सक्ने र आवश्यक प्रशासनिक सहजीकरण विभागबाट गरिने सहमति भएको छ। विभागबाट समाधान नभएका विषयमा मन्त्रालयमा पुनरावेदन दिन सकिने व्यवस्था रहेको पनि छलफलमा स्पष्ट पारिएको छ।

    छलफलबाट माग सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएपछि संघले आफूले सञ्चालन गरेका सम्पूर्ण दबाबमूलक कार्यक्रम आजैदेखि अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend