२०८३, भाद्र ४ गते

images
  • समाचार
  • नवलपरासीको धौवादीमा विशाल फलाम भण्डार, उत्खननका...

नवलपरासीको धौवादीमा विशाल फलाम भण्डार, उत्खननका लागि कम्पनीको योजना तयार

नवलपरासीको धौवादीमा विशाल फलाम भण्डार, उत्खननका लागि कम्पनीको योजना तयार

images
बिहिवार, भाद्र ४ २०८३१०:४०
बिहिवार, भाद्र ४ २०८३१०:४०
  • काठमाडौँ । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ ।

    कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट नौ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको हो ।

    खानी क्षेत्रलाई धौवादी पोखरी ब्लक र दुर्लुङ ब्लक गरी दुई भागमा विभाजन गरिएको छ । धौवादी पोखरी ब्लक २५ वर्ग किलोमिटर तथा दुर्लुङ ब्लक १६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । उक्त योजना स्वीकृत भएपछि कम्पनीले फलामको भण्डारसम्बन्धी थप अनुसन्धान तथा उत्खननकार्य अघि बढाउने जनाएको छ ।

    नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो ।

    कम्पनीका निर्देशक शैलेशकुमार थापाले जमिनमुनिको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङकार्य सम्पन्न गरिएको जानकारी दिए । 

    हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत छिट्टै सुरु गरिने कम्पनीले जनाएको छ ।

    खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको समग्र मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए । खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने उनको विश्वास छ ।

    खानीसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend