२०८३, भाद्र १३ गते

images
  • विशेष
  • नबिल बैंकको दिगो बैंकिङ मोडल :...

नबिल बैंकको दिगो बैंकिङ मोडल : हरित ऊर्जादेखि कृषि र रोजगारीसम्म

नबिल बैंकको दिगो बैंकिङ मोडल : हरित ऊर्जादेखि कृषि र रोजगारीसम्म

images
शुक्रवार, भाद्र ५ २०८३०७:०९
शुक्रवार, भाद्र ५ २०८३०७:०९
  • काठमाडौँ । बैंक भनेपछि धेरैले निक्षेप संकलन गर्ने र कर्जा दिने संस्थाका रूपमा मात्रै बुझ्छन् । तर, पछिल्ला वर्षहरूमा विश्वभर बैंकिङ क्षेत्रको भूमिका परिवर्तन भइरहेको छ । बैंकहरू अब नाफा कमाउने मात्र नभई वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र सुशासनलाई पनि आफ्नो व्यवसायिक रणनीतिसँग जोड्न थालेका छन् ।

    नेपालमा यही अवधारणालाई व्यवहारमा उतार्ने बैंकमध्ये नबिल बैंक अग्रस्थानमा देखिएको छ । बैंकले वातावरणीय, सामाजिक तथा संस्थागत सुशासन (ईएसजी) लाई सामाजिक उत्तरदायित्व (सीएसआर) को सीमित दायरामा नराखी आफ्नो समग्र व्यवसायिक रणनीतिको केन्द्रमा राखेको जनाएको छ । बैंकले कर्जा, लगानी, जोखिम व्यवस्थापन, सञ्चालन प्रणाली र सामाजिक प्रभावलाई एकीकृत गर्दै दिगो बैंकिङ अभ्यासलाई विस्तार गरिरहेको छ ।

    हरित ऊर्जा 

    नबिल बैंकले जलविद्युत् तथा सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा क्षेत्रमा ५१ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।बैंकका अनुसार २१ जिल्लामा सञ्चालित ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिएको छ । ती आयोजनाको कुल क्षमता ३ हजार ७० मेगावाट रहेको छ ।

    नवीकरणीय ऊर्जा क्षेत्रमा गरिएको लगानीले विद्युत् उत्पादन मात्र बढाएको छैन, वातावरण संरक्षणमा पनि योगदान पु¥याएको बैंकको दाबी छ । पछिल्लो चार वर्षमा बैंकको लगानीबाट ३९ हजार ४५० टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन रोक्न सहयोग पुगेको जनाइएको छ ।

    गत आर्थिक वर्षमा मात्रै १५ हजार ९७४ टन कार्बन उत्सर्जन न्यूनीकरण भएको बैंकले जनाएको छ ।

    विद्युतीय सवारीमा १० अर्ब ८४ करोड लगानी

    स्वच्छ यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले विद्युतीय सवारीसाधनमा १० अर्ब ८४ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । पेट्रोलियम पदार्थको आयातमा निर्भरता घटाउने र कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले विद्युतीय सवारी क्षेत्रमा लगानी बढाइएको बैंकले जनाएको छ । हरित ऊर्जा र विद्युतीय सवारी क्षेत्रमा मात्रै बैंकको कुल लगानी ६२ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

    कर्जा दिनुअघि वातावरणीय जोखिमको मूल्यांकन

    नबिल बैंकको अर्को विशेषता भनेको कर्जा स्वीकृति प्रक्रियामै वातावरणीय र सामाजिक जोखिमलाई समावेश गर्नु हो । बैंकले कुनै पनि परियोजनालाई कर्जा दिनुअघि त्यसले वातावरण र समाजमा पार्न सक्ने प्रभावको मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।

    विशेषगरी ऊर्जा, उद्योग र पूर्वाधारसँग सम्बन्धित परियोजनामा वित्तीय जोखिमसँगै वातावरणीय र सामाजिक जोखिमको समेत अध्ययन गर्ने गरिएको छ । उच्च जोखिम भएका परियोजनामा थप विश्लेषण गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    कृषि, साना उद्यम र पर्यटनमा लगानी

    नबिल बैंकको दिगो बैंकिङ रणनीति वातावरणीय पक्षमा मात्र सीमित छैन । बैंकले सामाजिक र आर्थिक समावेशितालाई पनि समान प्राथमिकता दिएको छ । जेठ मसान्त २०८३ सम्म बैंकले कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ७६ करोड र पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ । यी तीन क्षेत्रमा मात्रै बैंकको कुल लगानी १ खर्ब ११ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

    बैंकले ‘नबिल किसान कर्जा’ मार्फत कृषकलाई वित्तीय पहुँच उपलब्ध गराउँदै आएको छ । त्यस्तै, ’नबिल उद्यमी कर्जा’ कार्यक्रममार्फत महिला उद्यमी, युवा व्यवसायी, स्टार्टअप र घरेलु उद्योगलाई वित्तीय सहयोग प्रदान गरिरहेको छ ।

    १ लाख १२ हजारभन्दा बढीलाई रोजगारी

    नबिल बैंकको लगानीले रोजगारी सिर्जनामा पनि योगदान पु¥याएको छ । बैंकका अनुसार वित्तपोषण गरिएका विभिन्न व्यावसायिक संस्थामार्फत १ लाख १२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। तीमध्ये करिब ३१ प्रतिशत महिला रहेका छन् । यसले बैंकको लगानी वित्तीय कारोबारमा मात्र सीमित नभई सामाजिक र आर्थिक विकाससँग पनि जोडिएको देखाउँछ ।

    चार वर्षमा सीएसआरमा २५ करोड ६० लाख खर्च

    सामुदायिक उत्तरदायित्वअन्तर्गत बैंकले पछिल्लो चार वर्षमा २५ करोड ६० लाख रुपैयाँ लगानी गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् व्यवस्थापन र समुदाय विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नबिल एसएसई’ कार्यक्रमबाट १ हजार ५७७ जनाले तालिम पूरा गरिसकेका छन् ।

    डिजिटल बैंकिङबाट वातावरण संरक्षण

    बैंकले आफ्नै सञ्चालन प्रणालीलाई पनि वातावरणमैत्री बनाउने प्रयास गरिरहेको छ । पेपरलेस बैंकिङ, डिजिटल स्वीकृति प्रणाली, विद्युतीय कागजात व्यवस्थापन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुक्तानी र अनलाइन सेवाको विस्तारमार्फत कागजको प्रयोग घटाउने काम भइरहेको छ ।

    यसका साथै ऊर्जा दक्ष उपकरणको प्रयोग बढाउने र कार्यालयमा ऊर्जा व्यवस्थापन प्रणाली लागू गर्ने काम पनि भइरहेको छ ।बैंकका अनुसार वार्षिक २ लाख ६२ हजार ८०४ लिटर पानी संरक्षण गर्न सफल भएको छ ।

    अन्तर्राष्ट्रिय स्तरबाट पनि मान्यता

    दिगो बैंकिङ अभ्यासका कारण नबिल बैंकले हालै युरोमनी अवार्ड फर एक्सिलेन्स २०२६ अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर इएसजी र नेपाल्स बेस्ट बैंक एसएईज सहितका अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ ।

    सीएसआरभन्दा धेरै माथि पुग्यो ईएसजी 

    एक समय बैंकहरूको सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रमसम्म सीमित थियो । तर, नबिल बैंकले ईएसजीलाई व्यवसायिक रणनीतिकै केन्द्रमा राख्दै नयाँ अभ्यास सुरु गरेको छ । स्वच्छ ऊर्जा, विद्युतीय यातायात, कृषि, पर्यटन, उद्यमशीलता, रोजगारी, वातावरण संरक्षण र डिजिटल बैंकिङलाई एउटै ढाँचामा समेट्दै बैंकले दिगो विकासको नयाँ मोडल निर्माण गर्ने प्रयास गरिरहेको देखिन्छ ।

    यसले बैंकिङ क्षेत्रको भूमिका केवल वित्तीय कारोबारमा सीमित नराखी देशको आर्थिक, सामाजिक र वातावरणीय रूपान्तरणसँग जोड्ने नयाँ अभ्यासको सुरुवात गरेको संकेत गर्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend