२०८३, आश्विन १९ गते

images
  • समाचार
  • भोटेकोशी बाढी सामान्य वर्षाजन्य होइन, हिम–चट्टानको...

भोटेकोशी बाढी सामान्य वर्षाजन्य होइन, हिम–चट्टानको पहिरोबाट आएको बाढी : अध्ययन

भोटेकोशी बाढी सामान्य वर्षाजन्य होइन, हिम–चट्टानको पहिरोबाट आएको बाढी : अध्ययन

आइतवार, भाद्र २८ २०८३०१:२०
आइतवार, भाद्र २८ २०८३०१:२०
  • images

    काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी सामान्य वर्षाजन्य बाढी नभई उच्च हिमाली क्षेत्रमा गएको हिम–चट्टानको विशाल पहिरो र त्यसले नदी थुनेर बनाएको पानीको आकस्मिक बहावका कारण उत्पन्न भएको प्रारम्भिक अध्ययनले देखाएको छ।

    जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (सीएचडब्लुआरआर) ले तयार पारेको Assessment Report II : Rasuwa–Bhote Koshi Flood Event, 2026 प्रतिवेदनले बाढीको मूल स्रोत नेपाल–चीन सीमाभन्दा करिब २२ किलोमिटर माथि रहेको माथिल्लो ल्हेन्दे खोला क्षेत्र भएको उल्लेख गरेको छ। बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा मिसिएर देवघाटसम्म पुगेको थियो।

    प्रतिवेदनअनुसार घटनाको समयमा बाढी सुरु भएको क्षेत्रमा उल्लेखनीय वर्षा भएको देखिँदैन। घटनाको अघिल्लो २४ घण्टामा क्याङजिन्जङ वर्षामापन केन्द्रमा २७ मिलिमिटर वर्षा भएकोमा घटनाको दिन १२.६ मिलिमिटर मात्र वर्षा भएको थियो। बाढी आउनुअघिको ६ घण्टामा भने जम्मा १.५ मिलिमिटर वर्षा र १० मिनेटको अधिकतम वर्षा तीव्रता ०.१४ मिलिमिटर मात्र रेकर्ड भएको थियो। त्यसैले यति ठूलो बाढी ल्याउने गरी वर्षा नै मुख्य कारण भएको प्रमाण नरहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ।

    ५ हजार २०० मिटर उचाइमा हिमनदी खस्यो

    उपलब्ध भू–उपग्रह तस्बिरको अध्ययन गर्दा रसुवाको लाङटाङ–लिरुङ हिमालको उत्तरी भागमा करिब ५ हजार २०० मिटरको उचाइमा रहेको झुन्डिएको हिमनदी (ह्याङ्गिङ ग्लेसियर) भत्किएको देखिएको छ। त्यसपछि ठूलो परिमाणमा हिम–चट्टानसहितको पहिरो करिब ३ हजार ८०० मिटर उचाइमा रहेको मलबायुक्त हिमनदीमा खसेको थियो।

    त्यसबाट पानी, बरफ, चट्टान र मलबा मिसिएको ठूलो बहाव बनेर छोचेन खोलामा पुगेको र त्यहाँबाट ल्हेन्दे हुँदै नेपालको भोटेकोशी नदीमा प्रवेश गरेको प्रतिवेदनमा उल्लेख छ। भू–उपग्रह तस्बिरको विश्लेषणले करिब २ वर्ग किलोमिटर क्षेत्रफलको हिमनदी तथा चट्टानी भाग छुट्टिएको देखाएको छ।

    अध्ययनले बाढीको स्रोत क्षेत्र ४ हजारदेखि ५ हजार ६ सय मिटर उचाइबीचको अत्यन्त भिरालो भूभागमा रहेको जनाएको छ। त्यहाँबाट करिब १ हजार २०० देखि २ हजार मिटर तल खस्दा ठूलो सम्भावित ऊर्जा गतिज शक्तिमा परिणत भई चूर्ण भएको मलबा साँघुरो नदीको धारमा प्रवेश गरेको र त्यसले विनाशकारी बहाव सिर्जना गरेको अध्ययनको भनाइ छ।

    सात मिनेटमै २२ किलोमिटर पार

    भोटेकोशी बाढीको सबैभन्दा असामान्य पक्ष यसको तीव्र गति रहेको अध्ययनले देखाएको छ। स्रोत क्षेत्रबाट रसुवागढी सीमासम्मको करिब २२ किलोमिटर दूरी बाढीको लहरले करिब सात मिनेटमै पार गरेको थियो।

    यस क्रममा बाढीको औसत गति करिब १८८ किलोमिटर प्रतिघण्टा पुगेको अनुमान गरिएको छ। त्यसपछि रसुवागढीबाट स्याफ्रुबेँसी, बेत्रावती, फुर्के खोला हुँदै धादिङको गल्छी, मलमेखु र मुग्लिन पार गरेर नारायणीको देवघाटसम्म बाढी पुगेको थियो।

    घटनाको प्रारम्भिक संकेत बिहान ८ः३७ बजे देखिएको थियो। त्यसबेला ४.४ म्याग्निच्युडको भूकम्पीय संकेत रेकर्ड भए पनि पछिल्लो विश्लेषणले उक्त संकेत परम्परागत भूकम्प नभई हिम–चट्टानको पहिरोसँग सम्बन्धित भएको देखाएको प्रतिवेदनमा उल्लेख छ।

    बिहान ९ः१५ बजे बाढीको चेतावनी जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनमा एसएमएस पठाइएको थियो। त्यसअघि ९ः०५ बजेतिर बाढीबारे जानकारी प्राप्त भएको थियो।

    देवघाटमा ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड बहाव

    बाढीको मुख्य लहर नारायणीको देवघाटमा दिउँसो पुगेको थियो। त्यहाँ पानीको सतह अधिकतम ६.५७ मिटर पुगेको थियो।

    अध्ययनअनुसार देवघाटमा बाढीको उच्चतम बहाव करिब ५ हजार ८५० घनमिटर प्रतिसेकेन्ड अनुमान गरिएको छ। दिउँसो २ः१० देखि साँझ ६ बजेसम्म करिब ५७.४ करोड घनमिटर पानी बगेकोमा सामान्य बहावभन्दा अतिरिक्त पानीको मात्रा करिब २० करोड घनमिटर रहेको अनुमान छ।

    बाढीको तीव्रताले भोटेकोशी–त्रिशूली करिडोरका जलमापन केन्द्रसमेत प्रभावित भए। रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र फुर्के (मलेखु) लगायतका जलमापन केन्द्र बाढीले बगाएको वा सञ्चालनविहीन बनाएको प्रतिवेदनमा उल्लेख छ। फुर्केमा पानीको सतह खतराको तह पार गरेपछि केन्द्रसँगै पुलसमेत बगाएको थियो।

    बाढीपछि दुई प्राकृतिक ताल

    घटनापछि माथिल्लो ल्हेन्दे खोलामा दुईवटा प्राकृतिक अवरोध तालसमेत बनेका थिए। तीमध्ये पहिलो तालबाट अगस्ट २८ देखि प्राकृतिक रूपमा पानी बग्न थालेपछि त्यसको जोखिम क्रमशः घट्दै गएको अध्ययनले जनाएको छ। दोस्रो ताल भने हिमनदी भत्किएको क्षेत्रभन्दा तल बनेको थियो र अगस्ट २९ मा ओभरफ्लो हुँदा भोटेकोशी–त्रिशूलीको तल्लो क्षेत्रमा पानीको सतह बढेको थियो।

    यसले हिमाली क्षेत्रमा यस्ता घटनापछि पनि थप आकस्मिक बाढीको जोखिम रहने देखाएको छ।

    अब रियल टाइम निगरानीमा जोड

    भोटेकोशी बाढीपछि नेपालमा पहिलोपटक सीसीटीभीमार्फत नदी र बाढीको प्रत्यक्ष निगरानी प्रणाली सुरु गरिएको प्रतिवेदनमा उल्लेख छ। रसुवाको टिमुरेमा नेपाल–चीन सीमासँगै नदीभन्दा करिब ७० मिटर माथि सीसीटीभी जडान गरिएको छ।

    उक्त क्यामेराबाट प्राप्त प्रत्यक्ष दृश्यलाई २४ घण्टे बाढी पूर्वसूचना सेवासँग जोडिएको छ। अचानक नदीको बहाव बढ्ने, नदीको धार परिवर्तन हुने, काठ–ढुंगा तथा अन्य मलबा बग्ने वा नदी थुनिने अवस्था देखिएमा त्यसको तत्काल पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराउन यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।

    अध्ययनले यस्तो सीसीटीभी प्रणालीलाई अन्य जोखिमयुक्त हिमाली नदी, हिमताल, हिमनदी प्रभावित क्षेत्र, सीमावर्ती नदी तथा महत्वपूर्ण पुलसम्म विस्तार गर्न सुझाव दिएको छ।

    जलवायु परिवर्तनको सम्भावित सम्बन्धबारे थप अध्ययन आवश्यक

    प्रतिवेदनले घटनालाई तत्कालै जलवायु परिवर्तनको प्रत्यक्ष परिणामका रूपमा निष्कर्ष निकालेको छैन। तर हिम–चट्टानको पहिरो तथा त्यसपछि बनेको प्राकृतिक बाँध फुट्ने प्रक्रियामा जलवायु परिवर्तनका कारण हिम पग्लिने, पर्माफ्रोस्ट पग्लिने र भिरालो भूभाग अस्थिर हुने प्रक्रिया सम्भावित कारक हुन सक्ने उल्लेख गरेको छ।

    यस विषयमा विस्तृत भूगर्भीय, हिमनदीसम्बन्धी र मौसमसम्बन्धी अध्ययन आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ। साथै भविष्यमा यस्ता GLOF, पहिरोबाट बनेका प्राकृतिक बाँध फुट्ने घटना र आकस्मिक बाढीको जोखिम घटाउन स्वचालित जलमापन केन्द्र, वास्तविक समयको सूचना प्रणाली र पूर्वसूचना संयन्त्रलाई थप आधुनिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend