काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको क्षतिबापत विभिन्न बीमा कम्पनीमा परेको बीमा दाबीको संशोधित विवरण सार्वजनिक भएको छ । प्रारम्भिक रूपमा २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको विवरण आए पनि पछिल्लो रुजु तथा तथ्यांक अद्यावधिकपछि भदौ १५ गतेसम्म १३ अर्ब ५७ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको देखिएको हो ।
नेपाल बीमा प्राधिकरणबाट प्राप्त भदौ १५ गतेसम्मको विवरणलाई सम्बन्धित बीमा कम्पनीबाट प्राप्त तथ्यांकसँग रुजु गरी पुनः प्रविष्ट गर्दा उक्त रकम बराबरको दाबी परेको देखिएको हो । विवरणअनुसार बाढीबाट प्रभावित ५८३ जना बीमितले बीमा दाबीका लागि निवेदन दिएका छन् ।
कम्पनीगत रूपमा हेर्दा सबैभन्दा ठूलो दाबी युनाइटेड अजोड इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा ३८ जना बीमितबाट ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ ।
त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्समा १०२ जना बीमितबाट २ अर्ब १० करोड २८ लाख रुपैयाँको दाबी परेको छ । शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, दि ओरियण्टल इन्स्योरेन्समा ७४ करोड २१ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्समा ६४ करोड ७८ लाख रुपैयाँको दाबी परेको विवरणमा उल्लेख छ ।
यसैगरी नेको इन्स्योरेन्समा ५१ करोड ७० लाख रुपैयाँ र **सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)**मा २४ करोड २३ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
अन्य कम्पनीतर्फ नेपाल इन्स्योरेन्समा २३ करोड ८६ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १८ करोड ७३ लाख, एनएलजी इन्स्योरेन्समा ११ करोड ३१ लाख, प्रभु इन्स्योरेन्समा ३ करोड १२ लाख, राष्ट्रिय बीमा कम्पनीमा ७६ लाख, नेशनल इन्स्योरेन्समा ५३ लाख र नेपाल माइक्रो इन्स्योरेन्समा ५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिममा सबैभन्दा बढी दाबी
बीमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत परेको छ । यस शीर्षकमा मात्रै ८ अर्ब २० करोड ७७ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
त्यस्तै, सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ, मोटर बीमातर्फ १ अर्ब ५५ करोड ९ लाख रुपैयाँ, परिवहन बीमातर्फ ८९ करोड ७७ लाख रुपैयाँ, अन्य बीमातर्फ ५२ करोड ९२ लाख रुपैयाँ र स्वास्थ्य बीमातर्फ ४ करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिको वास्तविक आकार थप रुजु तथा दाबी मूल्याङ्कनसँगै स्पष्ट हुँदै जानेछ ।

