२०८३, आश्विन २० गते

images
  • समाचार
  • रसुवामा बाढीको वितण्डा, रसुवागढीदेखि त्रिशूली–३ ‘ए’...

रसुवामा बाढीको वितण्डा, रसुवागढीदेखि त्रिशूली–३ ‘ए’ सम्म प्रभावित

रसुवामा बाढीको वितण्डा, रसुवागढीदेखि त्रिशूली–३ ‘ए’ सम्म प्रभावित

बुधवार, भाद्र १० २०८३११:२०
बुधवार, भाद्र १० २०८३११:२०
  • images

    काठमाडौं । रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न जलविद्युत आयोजना, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र प्रभावित भएका छन्। त्यस्तै, त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा समेत क्षति पुगेको छ।

    बाढीले त्रिशूली र देवीघाट जलविद्युत केन्द्रका साथै विभिन्न वितरण संरचनामा समेत क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। उत्पादन, प्रसारण र वितरणतर्फका संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

    विद्युत आपूर्ति यथाशीघ्र नियमित गर्न प्राविधिक टोली परिचालन गरी आवश्यक काम भइरहेको प्राधिकरणले जनाएको छ। आपूर्ति पूर्ण रूपमा नियमित नहुँदासम्म उपभोक्तालाई धैर्य गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ।

    बाढीबाट विद्युत संरचनाबाहेक घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै निकायलाई तत्काल प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ।

    बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र अन्य जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, आधिकारिक स्रोतबाट पुष्टि नभएका सूचना तथा अफवाहमा विश्वास नगर्न प्राधिकरणले अनुरोध गरेको छ।

    रसुवामा यसअघि पनि बाढी तथा पहिरोका कारण जलविद्युत आयोजना र प्रसारण संरचनामा ठूलो क्षति हुँदै आएको थियो। पछिल्लो बाढीबाट पुनः ऊर्जा पूर्वाधार प्रभावित भएपछि विद्युत उत्पादनदेखि प्रसारण र वितरणसम्मको प्रणालीमा थप दबाब पर्ने जोखिम देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend