२०८३, आश्विन २० गते

images
  • समाचार
  • स्याफ्रुबेँसी र टिमुरेमा बाढीको वितण्डा, उद्धार...

स्याफ्रुबेँसी र टिमुरेमा बाढीको वितण्डा, उद्धार र राहतमा जुट्यो सरकार

स्याफ्रुबेँसी र टिमुरेमा बाढीको वितण्डा, उद्धार र राहतमा जुट्यो सरकार

बुधवार, भाद्र १० २०८३११:२७
बुधवार, भाद्र १० २०८३११:२७
  • images

    काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ। बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सरकारले सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिएको छ।

    प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट थप प्रभावित हुनसक्ने क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै निरन्तर सूचना प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    बाढीका कारण विभिन्न सडकखण्डसमेत जोखिममा परेकाले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न तथा नगराउन सरकारले आग्रह गरेको छ।

    प्रधानमन्त्री शाहको निर्देशनपछि सरोकारवाला निकायले आफ्ना संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्य अघि बढाएका छन्। जिल्लास्थित विपद् व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाइएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालयलगायतका निकाय उद्धार तथा खोज कार्यमा खटिएका छन्।

    नेपाली सेनाले पनि प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्य अघि बढाएको छ। प्रधानमन्त्रीको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत उद्धार तथा खोज कार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।

    बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उपचार र उद्धारलाई प्राथमिकतामा राख्दै थप मेडिकल जनशक्ति तथा आवश्यक स्वास्थ्य सामग्री परिचालन गर्ने तयारीसमेत गरिएको छ।

    यसैबीच, सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। बैठकमा रसुवाको बाढीबाट उत्पन्न परिस्थितिका साथै उद्धार, राहत र जोखिम न्यूनीकरणका विषयमा छलफल भइरहेको छ।

    यस्तै, प्रधानमन्त्री शाहले विपद्को अवस्थाबारे थप आवश्यक निर्णय लिन बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।

    सरकारले बाढीको जोखिम कायमै रहेकाले नदी तथा खोलाको आसपास र तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन तथा प्रशासनले तोकेको सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend