काठमाडौँ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
विपद्बाट प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्दै उद्धार, राहत र पुनःस्थापनाका काममा सरकारसँग ऐक्यबद्धता जनाउन सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायप्रति सम्मान व्यक्त गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

