काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि ११ जना उम्मेदवार छनोट भएका छन् ।
कार्यकारी प्रमुख नियुक्तिका लागि गठित सिफारिस समितिले रणनीतिक कार्ययोजनामा आधारित छनोट प्रक्रिया र पर्यटन क्षेत्रका विभिन्न समस्या समाधानसम्बन्धी परीक्षणमा प्राप्त अंकका आधारमा ११ जनाको नाम छनोट गरेको हो ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदमा नियुक्ति सिफारिस कार्यविधि, २०८३ को दफा ६ को उपदफा (५) बमोजिम गरिएको छनोट प्रक्रियाबाट यसअघि १६ जना उम्मेदवार प्रारम्भिक चरणमा छनोट भएका थिए । तीमध्येबाट पाँच जना बाहिरिएका छन् ।
छनोट हुने उम्मेदवारमा आशुतोष प्रधान र उत्तमप्रसाद देवकोटा (चितवन), टेकबहादुर महत (इलाम), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौँ), रोहिणीप्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्रीप्रसाद भट्टराई (रुपन्देही), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) रहेका छन् ।
यसअघि कात्तिक २० गते सार्वजनिक १६ जनाको सूचीमा रहेका धर्मराज दवाडी, राजाराम केसी, रामचन्द्र सेढाईं, विनोद अर्याल र सन्तोष विक्रम थापा भने पछिल्लो चरणमा छनोट हुन सकेनन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद गत वैशाख १९ गतेदेखि रिक्त छ । राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशमार्फत तत्कालीन कार्यकारी प्रमुख दीपकराज जोशीलाई सरकारले पदबाट हटाएपछि बोर्ड नेतृत्वविहीन बनेको हो ।
त्यसयता निमित्त नेतृत्वमार्फत बोर्डको प्रशासनिक कामकाज सञ्चालन हुँदै आएको छ ।

