काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपको निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।
नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक भीष्मराज आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले नियन्त्रणमा लिएर दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने काम भइरहेको आरोप लगाएका छन् ।
उनले यस्ता गतिविधि भइरहेको भए त्यसलाई सामान्य घटनाका रूपमा लिन नमिल्ने भन्दै विधिको शासनमाथिको गम्भीर प्रहार भएको टिप्पणी गरेका छन् ।
हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेख भएका विषयले गम्भीर प्रश्न उठाएको आङ्देम्बेको भनाइ छ ।
अनुसन्धानका नाममा कसैलाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य तथा कानुनी शासनको मर्मविपरीत हुने उनले बताएका छन् ।
‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’ उनले प्रश्न गरेका छन् ।
आङ्देम्बेले यस प्रकरणमा उठेका आरोपको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
उनले सत्तामा रहेका व्यक्तिको राजनीतिक प्रतिशोधको औजारका रूपमा राज्यका अनुसन्धानकारी निकाय प्रयोग हुन नहुने उल्लेख गर्दै ती निकायको विश्वसनीयता कायम राख्नुपर्ने बताएका छन् ।
‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ उनले भनेका छन् ।
नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनप्रति कांग्रेसको प्रतिबद्धता कायम रहेको उल्लेख गर्दै उनले फरक विचार राख्ने व्यक्तिलाई फसाउने नभई न्याय सुनिश्चित गर्ने कानुनी व्यवस्था आवश्यक रहेको बताएका छन् ।
उनले सरकारलाई संविधान र विधिको शासनअनुसार अघि बढ्नसमेत आग्रह गरेका छन् ।

