काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित जिल्लामा दूरसञ्चार पूर्वाधारमा करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार बाढीका कारण अवरुद्ध भएका अधिकांश मोबाइल टावर पुनः सञ्चालनमा ल्याइएका छन्।
प्राधिकरणले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बाढीबाट प्रभावित जिल्लामा नेपाल टेलिकमका १२० टावरमध्ये ११६ वटा र एनसेलका ७८ टावरमध्ये ७६ वटा पुनः सञ्चालनमा आएका छन्। यससँगै अधिकांश प्रभावित क्षेत्रमा मोबाइल दूरसञ्चार सेवा सुचारु भएको प्राधिकरणले जनाएको छ।
विद्युत् प्रसारण लाइन अवरुद्ध भएका स्थानमा टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर चलाउन इन्धन ढुवानीको समेत व्यवस्था मिलाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँगको समन्वयमा इन्धन आपूर्तिको व्यवस्था गरिएको हो।
३० वटा स्याटेलाइट फोन सञ्चालनमा
बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सञ्चारलाई सहज बनाउन ३० वटा स्याटेलाइट फोन सञ्चालनमा ल्याइएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)बाट प्राप्त २० वटा र एनसेलबाट प्राप्त १० वटा स्याटेलाइट फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, रसुवा र नुवाकोटका जिल्ला प्रशासन कार्यालयमार्फत प्रयोग गर्ने गरी २९ वटा LEO Satellite Internet Terminal को व्यवस्था गरिएको छ। एनसेलबाट २५ र डिसहोममार्फत आयात गरिएका चारवटा गरी २९ टर्मिनल प्रयोगमा ल्याइएको हो।
रसुवा र नुवाकोटका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ हटलाइनमा क्रमशः दुई र एक लाइन थप गरी सूचना तथा गुनासो प्राप्त गर्ने व्यवस्था पनि विस्तार गरिएको छ।
बाढीको नाममा हुने ठगीबाट सचेत रहन आग्रह
प्राधिकरणले बाढीपीडितको नाममा सामाजिक सञ्जाल तथा वेबसाइटमा हृदयविदारक वा संवेदनशील फोटो तथा भिडियो पोस्ट नगर्नसमेत आग्रह गरेको छ। यस्ता सामग्रीले सर्वसाधारणको मानसिक स्वास्थ्यमा असर पार्नुका साथै पीडितका आफन्त तथा परिवारजनलाई थप विचलित पार्न सक्ने प्राधिकरणको भनाइ छ।
त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा राहत कोषका नाममा नक्कली QR कोड तथा अनधिकृत लिंकमार्फत हुन सक्ने वित्तीय ठगीबाट सावधान रहन र आधिकारिक खातामा मात्रै रकम पठाउन प्राधिकरणले मोबाइल प्रयोगकर्तालाई सचेत गराएको छ।
राहत कोषमा १५ करोड दिने
बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा सहयोग पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। साथै, दूरसञ्चार सेवा प्रदायकहरूलाई पनि विपद् व्यवस्थापनका लागि यथाशक्य सहयोग गर्न आग्रह गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीपछि दूरसञ्चार सेवा प्रभावित भएदेखि नै सेवा प्रदायक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रालय तथा सुरक्षा निकायसँग समन्वय गरी सेवा पुनः सञ्चालन र पूर्वाधार मर्मतको काम अघि बढाइएको छ। प्रभावित क्षेत्रमा मोबाइल वा इन्टरनेट सेवामा समस्या भएमा सम्बन्धित सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरण वा DEOC को १२३४ हटलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ।

