काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने बताएका हुन्।
त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उनले उल्लेख गरेका छन्। मौसम प्रणालीको प्रभावका कारण मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने जनाइएको छ।
प्रधानमन्त्री शाहका अनुसार गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्कता आवश्यक छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानका साथै सडक तथा हवाई यातायातमा समेत अवरोध हुनसक्ने भन्दै उनले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
उनले पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिक विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्।
मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत उनले अनुरोध गरेका छन्।
सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिकलाई सुरक्षित र सचेत रहन अपिल गरेका छन्।

