२०८३, आश्विन १९ गते

images
  • अटो
  • चाडपर्व नजिकिँदै गर्दा सवारी दर्तामा देखिएको...

चाडपर्व नजिकिँदै गर्दा सवारी दर्तामा देखिएको समस्या समाधान गर्न नाडाको आग्रह

चाडपर्व नजिकिँदै गर्दा सवारी दर्तामा देखिएको समस्या समाधान गर्न नाडाको आग्रह

शुक्रवार, आश्विन १६ २०८३०८:१५
शुक्रवार, आश्विन १६ २०८३०८:१५
  • images

    काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा सवारी साधन दर्ता प्रक्रियामा देखिएका समस्या समाधान गर्न नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको छ ।

    नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी सवारी साधन दर्तामा देखिएका समस्या तथा समाधानका उपायबारे छलफल गरेको हो ।

    छलफलका क्रममा महासचिव मल्लले चाडपर्वको समय नजिकिँदै जाँदा यातायात व्यवस्था कार्यालयहरूमा सवारी साधन दर्तासम्बन्धी कामको चाप बढेको बताए । कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको उनले जानकारी दिए ।

    कम्पनीका प्रतिनिधिहरूले आवश्यक कागजात पेस गर्नुका साथै सवारी साधन दर्तासम्बन्धी काममा सहजीकरण गर्दै आए पनि कार्यालयको नियमित प्रक्रिया र कर्मचारीमाथिको कार्यचापका कारण दर्ता प्रक्रिया अपेक्षाकृत लामो समय लाग्ने गरेको नाडाले जनाएको छ ।

    नाडाले सेवाग्राहीको चाप र चाडपर्वको समयलाई ध्यानमा राख्दै सवारी दर्ता प्रक्रियालाई सहज बनाउन तत्काल आवश्यक समन्वय र सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पौडेलसमक्ष आग्रह गरेको हो ।

    छलफलमा नाडाका सचिव तथा टु ह्वीलर समितिका सभापति मेघराज पौडेलले असोज ८ गते यातायात व्यवस्था कार्यालयका प्रमुख राजन पोखरेलसँग नाडाको प्रतिनिधिमण्डलले भेट गरी समस्या समाधानका विषयमा छलफल गरिसकेको जानकारी दिए ।

    भेटका क्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सवारी दर्तासँग सम्बन्धित समस्याबारे सम्बन्धित यातायात व्यवस्था कार्यालयहरूसँग छलफल तथा समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य विमल साह तथा नाडा टु ह्वीलर समितिका सदस्य योगेन गुरुङ र दीपक रौनियारको समेत सहभागिता थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend