२०८३, आश्विन १९ गते

images
  • समाचार
  • त्रिभुवन विमानस्थल आसपास चङ्गा, बेलुन र...

त्रिभुवन विमानस्थल आसपास चङ्गा, बेलुन र ड्रोन नउडाउन नागरिक उड्डयन कार्यालयको आग्रह

त्रिभुवन विमानस्थल आसपास चङ्गा, बेलुन र ड्रोन नउडाउन नागरिक उड्डयन कार्यालयको आग्रह

सोमवार, आश्विन १९ २०८३११:०७
सोमवार, आश्विन १९ २०८३११:०७
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दसैँ, तिहारलगायतका चाडपर्वका समयमा विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा, बेलुन र ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    विमानस्थल नागरिक उड्डयन कार्यालय, गौचरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उडान सुरक्षामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न तथा नगराउन अनुरोध गरेको हो।

    कार्यालयका अनुसार दसैँलगायतका चाडपर्व सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा चङ्गा उडाउने गतिविधिमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विमानस्थलको आसपास तथा विमानको उडान र अवतरण मार्गमा चङ्गा, बेलुन तथा ड्रोनजस्ता वस्तु उडाउँदा हवाई उडान सञ्चालनमा गम्भीर सुरक्षा चुनौती उत्पन्न हुन सक्ने कार्यालयले जनाएको छ।

    विशेषगरी विमानस्थलको उडान तथा अवतरण क्षेत्रमा चङ्गा, डोरी, धागो, बेलुन वा ड्रोन प्रवेश गर्दा विमानको सुरक्षित उडान तथा अवतरणमा अवरोध सिर्जना हुनुका साथै उडान सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। विमानस्थल आसपासका क्षेत्रमा यस्ता गतिविधि प्रचलित नागरिक उड्डयनसम्बन्धी कानुनले समेत निषेध गरेको कार्यालयले स्मरण गराएको छ।

    यस विषयलाई मध्यनजर गर्दै कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी आम नागरिकमा सचेतना अभिवृद्धि गर्ने काम गर्दै आएको जनाएको छ। साथै, आधिकारिक तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गर्ने र सम्बन्धित टोल क्षेत्रमा माइकिङ गर्ने कार्यक्रमसमेत सञ्चालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

    कार्यालयले सर्वसाधारण, अभिभावक, बालबालिका तथा सम्बन्धित समुदायलाई विमानस्थल र आसपासका क्षेत्रमा चङ्गा, बेलुन तथा ड्रोन नउडाउन विशेष अनुरोध गरेको छ।

    हवाई उडानको सुरक्षा विमानस्थल तथा सम्बन्धित निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कार्यालयले विमानको सुरक्षित उडान तथा यात्रुको सुरक्षाका लागि सबैबाट सहयोग, सहकार्य र जिम्मेवार व्यवहारको अपेक्षा गरेको छ।

    कार्यालयले ‘सुरक्षित आकाश, सुरक्षित यात्रा–हवाई सुरक्षामा सबैको साथ’ भन्ने सन्देशसमेत दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend