२०८३, मंसिर ७ गते

  • समाचार
  • सिद्धार्थ बैंक एनपीएल उद्घाटन गर्दै प्रधानमन्त्री...

सिद्धार्थ बैंक एनपीएल उद्घाटन गर्दै प्रधानमन्त्री बालेन, नेपाली क्रिकेटलाई दिए शुभकामना

सिद्धार्थ बैंक एनपीएल उद्घाटन गर्दै प्रधानमन्त्री बालेन, नेपाली क्रिकेटलाई दिए शुभकामना

images
सोमवार, कार्तिक ९ २०८३०९:४१
सोमवार, कार्तिक ९ २०८३०९:४१
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । आजदेखि काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन् ।

    प्रधानमन्त्री शाहले एनपीएल सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिँदै प्रतियोगितालाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा चित्रण गरेका छन् ।

    उनले एनपीएल केही वर्षमै ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन् । साथै, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका छन् ।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ । लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई हार्दिक स्वागत छ । नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना । नेपाली क्रिकेट अमर रहोस् ।”

    एनपीएलको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आज अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ ।

    प्रतियोगितामा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु भएर आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend