काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी १५ कात्तिकदेखि सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी दिएको हो ।
सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ ।
आयोजनाका अनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस तथा ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौँबाट बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर तिर्नुपर्ने आयोजनाले जनाएको छ ।
सवारीसाधनको वर्ग र आवागमनको दिशाअनुसार शुल्क फरक–फरक निर्धारण गरिएको हो ।

