काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन् ।
आईजीपी कार्कीले पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका बेला सातै प्रदेशका डीआईजीलाई समेत मुख्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
पीसीसी बैठक आज दिउँसो २ बजे बस्ने बताइएको छ । उक्त कमिटीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू सहभागी हुने गर्छन् ।
यद्यपि, पीसीसी बैठकका अतिरिक्त सातै प्रदेशका डीआईजीलाई समेत मुख्यालय बोलाउनुको कारण भने खुलाइएको छैन ।
प्रहरी उच्च स्रोतका अनुसार डीआईजीहरूलाई बुधबार नै मुख्यालय आउन भनिएको थियो । सोहीअनुसार केही डीआईजी मुख्यालय पुगिसकेका छन् भने केही आउने क्रममा छन् ।
‘डीआईजीहरूलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसक्नुभएको छ, केही आउँदै हुनुहुन्छ,’ प्रहरी उच्च स्रोतले जनाएको छ ।

