२०८३, मंसिर ७ गते

  • समाचार
  • चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता...

चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह

चक्रवात ‘अर्नब’ को प्रभावबाट जोगिन सतर्कता अपनाउन पर्यटन बोर्डको आग्रह

images
शुक्रवार, कार्तिक १३ २०८३०७:३९
शुक्रवार, कार्तिक १३ २०८३०७:३९
  • images

    काठमाडौँ । नेपाल पर्यटन बोर्डले चक्रवात अर्नबको प्रभावले भारी वर्षा र हिमपात हुनसक्ने भएकोले सतर्कता अपनाउन पर्यटकहरुलाई आग्रह गरेको छ । 

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले  चक्रवात ‘अर्नब’को प्रभावका कारण अक्टोबर २९ को रातिदेखि नेपालका विभिन्न भागमा मौसम प्रभावित हुने तथा ३० र ३१ अक्टोबरमा भारी वर्षा, चट्याङ र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । यसकारण नेपाल पर्यटन बोर्डले स्वदेशी तथा विदेशी पर्यटक र यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेकाले यात्रा तथा पदयात्रामा विशेष सावधानी अपनाउन बोर्डले अनुरोध गरेको हो ।

    वर्षाका कारण पहिरो, आकस्मिक बाढी तथा नदीमा जलसतह बढ्ने जोखिम रहनुका साथै पहाडी सडक र नदी किनारका यातायात मार्ग प्रभावित हुन सक्ने जनाइएको छ । यसले सडक तथा हवाई यातायातमा समेत अवरोध सिर्जना गर्न सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसम पूर्वानुमान र सडकको अवस्थाबारे आधिकारिक सूचना लिन बोर्डले आग्रह गरेको हो । 

    बोर्डले भारी वर्षाका बेला अत्यावश्यकबाहेकका यात्रा नगर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रमा तय गरिएका पदयात्रा र भ्रमण मौसम अनुकूल नहुँदासम्म स्थगित गर्न तथा प्रभावित क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा रहन सुझाएको छ । नदी किनार, पहिरोको जोखिम भएका भिरालो क्षेत्र र अन्य जोखिमयुक्त स्थानबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न पनि बोर्डले अनुरोध गरेको छ ।

    आपत्कालीन सहायता तथा जानकारीका लागि मौसमसम्बन्धी सूचना लिन ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ र पर्यटक प्रहरी ११४४ मा सम्पर्क गर्न सकिनेछ ।

    नेपाल पर्यटन बोर्डले पर्यटकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै सबै यात्रुलाई आधिकारिक सूचनाहरु पछ्याउन, मौसमको अवस्था मूल्याङ्कन गरेर यात्रा योजना बनाउन र प्रतिकूल मौसममा जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend