काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइन्यान्समा अहिलेसम्मकै ठूलो साइबर हमला भएको दाबी गरिएको छ। घटनामा करिब ६.३ अर्ब अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति प्रभावित भएको बताइएको छ। यस घटनाले विश्वव्यापी क्रिप्टोकरेन्सी बजारको सुरक्षा र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
बाइन्यान्सका अनुसार साइबर आक्रमणपछि ठूलो परिमाणमा डिजिटल सम्पत्ति जोखिममा परेको थियो। कम्पनीले प्रभावित सम्पत्तिमध्ये केही हिस्सा रोक्का गर्न सफल भएको जनाएको छ। यद्यपि, बाँकी सम्पत्तिको अवस्थाबारे थप अनुसन्धान भइरहेको छ।
ग्राहकको रकम सुरक्षित रहेको बाइन्यान्सको दाबी
घटना सार्वजनिक भएपछि कम्पनीका सह–प्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले प्रयोगकर्तालाई आश्वस्त पार्दै ग्राहकको सम्पत्तिको पूर्ण क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार क्षतिपूर्तिका लागि कम्पनीको आकस्मिक कोष ‘सेक्युर एसेट फण्ड फर युजर’ (एसएएफयु) तथा कम्पनीको आफ्नै स्रोत परिचालन गरिनेछ।
प्रारम्भिक अनुसन्धानले आक्रमण कम्पनीका एक डेभअप्स इन्जिनियरको ल्यापटपबाट सुरु भएको देखाएको छ। आक्रमणकारीले उक्त उपकरणमार्फत सर्भिस कन्टेनरमा अनधिकृत पहुँच बनाएर डिजिटल सम्पत्ति स्थानान्तरण गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
टेङले यो सामान्य साइबर आक्रमण नभई योजनाबद्ध र प्राविधिक रूपमा जटिल हमला भएको बताएका छन्। उनका अनुसार हालसम्म कुनै पनि वालेटको निजी सुरक्षा साँचो (प्राइभेट की) चोरी भएको प्रमाण फेला परेको छैन। सुरक्षालाई थप मजबुत बनाउन कम्पनीले अस्थायी रूपमा रकम झिक्ने सेवा (विथड्रल सर्भिस) समेत बन्द गरेको जनाएको छ।
उत्तर कोरियाली ह्याकरमाथि आशङ्का
आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर, ब्लकचेन विश्लेषण गर्ने संस्था टीआरएम ल्याब्स र चेनालिसिसले यस घटनामा उत्तर कोरियासँग सम्बन्धित ह्याकिङ समूहको संलग्नता हुन सक्ने आशङ्का गरेका छन्।
विश्लेषकहरूले ‘लाजारस ग्रुप’ लगायतका समूहको सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेका छन्।
आक्रमणको शैली सन् २०२५ मा क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटमा भएको करिब १.५ अर्ब डलर बराबरको साइबर चोरीसँग मिल्दोजुल्दो रहेको बताइएको छ।
यद्यपि, बाइन्यान्सले आक्रमणमा उत्तर कोरियाको प्रत्यक्ष संलग्नता पुष्टि गरेको छैन। कम्पनीले दोषी पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय अनुसन्धान निकायसँग सहकार्य गरिरहेको जनाएको छ।
अर्बौं डलरको डिजिटल सम्पत्ति रोक्का
आक्रमणपछि ब्लकचेन साझेदारहरूको सहयोगमा करिब ३ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति रोक्का गरिएको कम्पनीको दाबी छ। त्यस्तै, स्टेबलक्वाइन जारीकर्ता टिथर र सर्कलले थप २.४ अर्ब डलर बराबरका सम्पत्ति रोक्का गरेको बताइएको छ।
बाइन्यान्सको विश्वव्यापी प्लेटफर्म प्रभावित भए पनि अमेरिकी प्रयोगकर्ताका लागि छुट्टै सञ्चालनमा रहेको बाइन्यान्स यूएस भने सुरक्षित रहेको जनाइएको छ।
क्रिप्टो बजारमा असर, बिटक्वाइनको मूल्य घट्यो
घटनापछि क्रिप्टोकरेन्सी बजारमा लगानीकर्ताको चिन्ता बढेको छ। बजारमा देखिएको दबाबका बीच बिटक्वाइनको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको विवरणमा उल्लेख छ।
साइबर सुरक्षा विज्ञहरूले पछिल्लो समय ह्याकरहरूले उच्च प्राविधिक पहुँच भएका कर्मचारीलाई लक्षित गरेर नक्कली रोजगारीका प्रस्ताव तथा मालवेयर प्रयोग गर्ने रणनीति अपनाइरहेको बताएका छन्।
ग्लोबल सिग्नल एक्सचेन्जकी सह–संस्थापक एमिली टेलरका अनुसार यस्तो आक्रमणको गति र परिमाण असाधारण छ। उनका अनुसार कर्मचारीका व्यक्तिगत उपकरणमार्फत संस्थाको आन्तरिक प्रणालीमा पहुँच बनाउनु साइबर सुरक्षाका लागि गम्भीर चुनौती बन्दै गएको छ।
विश्वभर करोडौँ प्रयोगकर्ता र ठूलो परिमाणको डिजिटल सम्पत्ति व्यवस्थापन गर्दै आएको बाइन्यान्समाथिको यो आक्रमणले क्रिप्टोकरेन्सी क्षेत्रमा साइबर सुरक्षाको चुनौतीलाई पुनः चर्चामा ल्याएको छ। कम्पनीले ग्राहकको क्षतिपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि घटनाको वास्तविक क्षति, आक्रमणकारीको पहिचान र बाँकी सम्पत्तिको अवस्थाबारे अनुसन्धान जारी छ।

