२०८३, मंसिर ७ गते

  • समाचार
  • भोजपुरमा मौसम खुलेसँगै धान भित्र्याउन किसानलाई...

भोजपुरमा मौसम खुलेसँगै धान भित्र्याउन किसानलाई चटारो

भोजपुरमा मौसम खुलेसँगै धान भित्र्याउन किसानलाई चटारो

images
मंगलवार, कार्तिक १७ २०८३०७:३०
मंगलवार, कार्तिक १७ २०८३०७:३०
  • images

    काठमाडौँ । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ । वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन् । 

    धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो । अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन् । कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन् । 

    भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए। “केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो । अहिले मौसम खुलेपछि राहत मिलेको छ”, उनले भने, “अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ । अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ ।”

    किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए। वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ ।  

    “हामी किसान धान भण्डारणको काममा लागेका छौँ”, उनले भने, “अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो । सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ ।”

    धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो । जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको छ । मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend