काठमाडौँ । लामो समयदेखि नेतृत्वविहीन रहेका वित्तीय क्षेत्रका तीन महत्त्वपूर्ण संस्थाले एकैदिन नयाँ नेतृत्व पाएका छन्। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र निक्षेप तथा कर्जा सुरक्षण कोषमा नयाँ नेतृत्व नियुक्त गरेका हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसमा नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो। त्यस्तै, अर्थ मन्त्रालयको सिफारिसमा निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त भएका छन्।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले तीनै संस्थाका नवनियुक्त प्रमुखलाई नियुक्तिपत्र प्रदान गरेका छन्। बीमा प्राधिकरणका अध्यक्ष थापालाई भने उनले पद तथा गोपनीयताको शपथसमेत गराएका छन्।
एकैदिन तीन संस्थामा नेतृत्व नियुक्त गरेर अर्थमन्त्री वाग्लेले लामो समयदेखि रिक्त रहेका पदमा नियुक्ति प्रक्रिया अघि बढाएका हुन्। वित्तीय क्षेत्रको नियमन, पुँजीबजारको सञ्चालन र निक्षेप तथा कर्जा सुरक्षणसँग सम्बन्धित यी संस्थामा नेतृत्व नहुँदा संस्थागत निर्णय र कार्यसम्पादनमा समेत चुनौती रहँदै आएको थियो।
नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले नेप्सेका सीईओ सुवेदीलाई इमानदारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ भण्डारीलाई संस्थाको गरिमा कायम राख्दै नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति कटिबद्ध हुन निर्देशन दिएका छन्।
बीमा प्राधिकरणका अध्यक्ष थापालाई भने बीमा क्षेत्रको श्रेय वृद्धि र सुधारका लागि निडर तथा निर्धक्क भएर काम गर्न अर्थमन्त्री वाग्लेले निर्देशन दिएका छन्।
बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त राजन विक्रम थापा बैंकिङ क्षेत्रका अनुभवी व्यक्ति हुन्। उनी नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागमा निर्देशकका रूपमा कार्यरत रहँदा बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणसम्बन्धी काममा संलग्न थिए। उनीसँग बैंकिङ क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ।
त्यस्तै, नेप्सेको सीईओमा नियुक्त प्रताप सुवेदी कृषि विकास बैंकका पूर्वउपमहाप्रबन्धक हुन्। उनले बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालेका थिए। व्यवस्थापनमा स्नातकोत्तर गरेका सुवेदीले मानव संसाधन, सञ्चालन, कर्जा तथा वित्त व्यवस्थापन, योजना र संस्थागत सुशासनलगायतका क्षेत्रमा काम गरेका छन्। उनी नेपाल राष्ट्र बैंकमा समेत कार्यरत थिए भने विभिन्न वित्तीय संस्थाको सञ्चालक समितिमा रहेर काम गरिसकेका छन्।
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा नियुक्त पिताम्बर भण्डारीले अब नागरिकको निक्षेप सुरक्षण र कर्जा सुरक्षणसम्बन्धी संस्थागत जिम्मेवारी सम्हाल्नेछन्।
तीनवटै संस्थामा नयाँ नेतृत्व आएपछि अब वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, पुँजीबजारको विकास र निक्षेप सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ।

