काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित डा। रत्नबहादुर बागचन्दले न्यायपालिकालाई नागरिकले न्याय पाएको वास्तविक अनुभूति गर्ने संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित ‘भिजन २०३५’ अघि सारेका छन् ।
संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत कार्ययोजनामा उनले अदालतको फैसला, मुद्दा व्यवस्थापन र न्यायिक सेवाको प्रभावकारितालाई केन्द्रमा राख्दै न्यायपालिका सुधारका विभिन्न रणनीति प्रस्ताव गरेका छन् ।
बागचन्दको अवधारणामा अदालतबाट फैसला हुनु मात्रै न्यायको अन्तिम उपलब्धि होइन । फैसलाको प्रभावकारी कार्यान्वयन र त्यसबाट नागरिकले वास्तविक न्याय पाएको अनुभूति गर्नु नै न्यायिक प्रणालीको सफलता हो ।
उनले न्यायपालिकाको कार्यसम्पादन मूल्याङ्कनका लागि औसत मुद्दा फर्छ्योट अवधि, पुराना मुद्दाको अनुपात, न्यायाधीशको उपलब्ध समय, सेवाग्राहीको अनुभव र गुनासोलाई समेत मापनका आधार बनाउने प्रस्ताव गरेका छन् ।
कार्ययोजनामा सात रणनीतिक स्तम्भमार्फत न्यायिक सुधारको खाका प्रस्तुत गरिएको छ । मुद्दाको तयारी र सुनुवाइलाई व्यवस्थित बनाउने, समयमै स्पष्ट फैसला लेख्ने, डिजिटल प्रमाणको सुरक्षित व्यवस्थापन गर्ने, न्यायमा समान पहुँच सुनिश्चित गर्ने तथा फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।
फैसला कार्यान्वयनमा न्यायपालिका–कार्यपालिका समन्वयको प्रस्ताव
बागचन्दले अदालतका फैसला कार्यान्वयनमा देखिने समस्यालाई सम्बोधन गर्न न्यायपालिका र कार्यपालिकाबीच समन्वय आवश्यक रहेको औँल्याएका छन् । तर, यस्तो समन्वयको नाममा न्यायिक अधिकार र फैसलाको कानुनी प्रभावमा हस्तक्षेप हुन नहुने उनको कार्ययोजनाको मूल मान्यता छ ।
कार्ययोजनाको खण्ड ५।१ र ५।२ मा फैसलाको अर्थ र कानुनी प्रभाव निर्धारण गर्ने अधिकार न्यायपालिकामै रहने तथा कार्यपालिकाले फैसलाको विषयवस्तु परिवर्तन गर्न नसक्ने व्यवस्था उल्लेख छ ।
यद्यपि, कार्यान्वयन समन्वयका लागि मन्त्रालयको नेतृत्वमा प्रस्तावित संयन्त्रको कानुनी आधार, अधिकार क्षेत्र र संस्थागत सीमाबारे थप स्पष्टता आवश्यक देखिएको छ । विशेषगरी सरकार आफैँ विपक्षी रहेको मुद्दामा फैसला कार्यान्वयन हुन नसके नागरिकले पाउने उपचार र अदालतको बाध्यकारी अधिकार कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न महत्वपूर्ण देखिन्छ ।
कार्यान्वयन र मापनयोग्यतामा थप स्पष्टता आवश्यक
कार्ययोजनामा न्यायिक सुधारका विषय र रणनीति स्पष्ट रूपमा समेटिए पनि तिनलाई व्यवहारमा उतार्ने समयसीमा तथा पहिलो वर्ष हासिल गर्नुपर्ने उपलब्धि स्पष्ट रूपमा निर्धारण हुन बाँकी रहेको विश्लेषण छ ।
खण्ड १३।१ मा न्यायिक गुणस्तर मापनका विभिन्न सूचक प्रस्ताव गरिए पनि तिनको आधाररेखा, निश्चित लक्ष्य र तथ्याङ्क संकलन विधि स्पष्ट छैनन् ।
मुद्दाको मिसिल तयारी सुधार्ने र स्पष्ट फैसला लेख्ने प्रस्ताव तत्काल कार्यान्वयन गर्न सकिने प्रकृतिका देखिए पनि संयुक्त फैसला कार्यान्वयन मोडेलका लागि कानुनी परीक्षण, लागत र संस्थागत स्वीकृति आवश्यक पर्ने औँल्याइएको छ ।
त्यस्तै, न्यायिक तालिमको संख्या बढ्नुलाई मात्रै उपलब्धि मान्न नहुने र तालिमपछि न्यायाधीश तथा कर्मचारीको कार्यक्षमतामा आएको परिवर्तनसमेत मापन गर्नुपर्ने सुझाव दिइएको छ ।
फैसला कार्यान्वयनको संख्या मात्रै होइन, त्यसबाट नागरिकले प्राप्त गरेको वास्तविक लाभलाई पनि न्यायिक सफलताको सूचक बनाउनुपर्ने अवधारणा अघि सारिएको छ ।
पहिलो वर्षका प्राथमिकता तोक्नुपर्ने सुझाव
बागचन्दको कार्ययोजनामा ‘भिजन २०३५’, चौमासिक समीक्षा र तीन चरणको सुधार अवधारणा समेटिए पनि प्रत्येक चरणको समयसीमा तथा उपलब्धिका स्पष्ट माइलस्टोन तोक्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
विश्लेषणले पहिलो वर्षका लागि कम्तीमा दुई प्राथमिक नतिजा छनोट गरी त्यसको आधाररेखा, लक्ष्य, जिम्मेवारी, आवश्यक स्रोत, समयसीमा र प्रमाणको स्रोतसहित एकीकृत कार्यतालिका बनाउन सुझाव दिएको छ ।
त्यसैगरी, न्यायाधीशको व्यक्तिगत जिम्मेवारीमा पर्ने काम र संस्थागत स्वीकृति तथा समन्वयमा निर्भर रहने कामलाई छुट्टाछुट्टै पहिचान गर्नुपर्ने देखिएको छ ।
समग्रमा बागचन्दको ‘भिजन २०३५’ ले न्यायपालिकालाई फैसला सुनाउने संस्थाबाट नागरिकलाई प्रभावकारी न्याय उपलब्ध गराउने संस्थामा रूपान्तरण गर्ने अवधारणा अघि सारेको छ । न्यायिक गुणस्तर, समान पहुँच, डिजिटल सुरक्षा र फैसला कार्यान्वयनलाई सुधारको केन्द्रमा राखिएको यो कार्ययोजनाको सफलता भने स्पष्ट लक्ष्य, समयसीमा र प्रभावकारी कार्यान्वयनमा निर्भर रहनेछ ।

