काठमाडौं । साताको कारोबारमा उतारचढाव देखिएको सेयर बजार अन्तिम समयमा सम्हालिँदै सामान्य अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २.६४ अंकले वृद्धि हुँदै २ हजार ६५५.२२ विन्दुमा पुगेको हो ।
कारोबारको मध्याह्नतिर २ हजार ६६२ विन्दुसम्म उक्लिएको बजार त्यसपछि ओरालो लागेको थियो । यद्यपि, अन्तिम समयमा सुधार देखिएपछि परिसूचक सामान्य वृद्धिसहित बन्द भएको हो ।
आज बजारमा ३३६ कम्पनीको सेयर कारोबार भएको छ । कुल ३३ हजार २१५ वटा कारोबारमार्फत १ करोड ७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा घट्नेभन्दा बढ्ने कम्पनीको संख्या बढी देखिएको छ । आज १५८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १०७ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
कारोबार भएका अधिकांश उपसमूहमा सुधार देखिएको छ । अन्य समूह भने सामान्य अंकले घटेको छ ।
आज सर्वाधिक मूल्य वृद्धि हुने कम्पनीमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयर मूल्य १४.०८ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १९२ रुपैयाँ पुगेको छ ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड ६३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

