काठमाडौँ । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रो बस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये अहिलेसम्म चालकको मात्रै पहिचान खुलेको छ। दुर्घटनामा ज्यान गुमाएका अन्य नौ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहान करिब ५:४५ बजे मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको हो।
मृत्यु हुने चालक सर्लाहीको कविलास गाउँपालिकाका रवि शंकर कुमार मण्डल रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए।
दुर्घटनामा घाइते भएका ६ जनाको भने पहिचान खुलेको छ। घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको छ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, १६ महिनाका सुदीप यादव, २६ वर्षीय देवेन्द्र यादव, १२ वर्षीय सक्षम यादव, ८ वर्षीय सुदीप यादव र ‘बच्चु’ भन्ने देवेन्द्र राय रहेका छन्।
दुर्घटनामा मृत्यु भएका चार जनाको शव हेटौँडा अस्पताल ल्याइएको छ। बाँकी मृतकको शव घटनास्थलबाट अस्पताल ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

