काठमाडौँ । मकवानपुरको भीमफेदीमा १४ जनाको ज्यान जाने गरी भएको हाइस दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिले आजैदेखि काम सुरु गर्नेछ।
समितिमा सहायक प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी इन्चार्ज, पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन्। समितिलाई एक साताभित्र दुर्घटनाको कारणसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रजिअ अधिकारीले जानकारी दिए।
बिहीबार भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेको हाइस बिहीबार बिहान २ बजे काठमाडौँबाट छुटेको थियो। उक्त गाडी बिहान ५ः१५ बजे देउराली पुगेको र ५ः४५ बजे चिसापानीमा दुर्घटनामा परेको देखिएको प्रजिअ अधिकारीले बताए।
उनका अनुसार पछिल्लो १३ महिनामा उक्त सडकखण्डमा तीनवटा ठूला दुर्घटनासहित अन्य साना दुर्घटना भएका छन्।
दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति, रुट परमिटको अवस्था, चालकको लापरबाही, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने प्रवृत्ति तथा सडक पूर्वाधारको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको उनले बताए।
त्यस्तै, सडक संकेतको व्यवस्था र यात्रुमा सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्ने विषयलाई पनि प्राथमिकतामा राखेर अध्ययन गरिने जनाइएको छ।
समितिको प्रतिवेदनका आधारमा दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्ने अपेक्षा गरिएको छ।

