२०८३, मंसिर ७ गते

  • समाचार
  • उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चारदिने...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चारदिने छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै चारदिने छठ पर्व सम्पन्न

images
सोमवार, कार्तिक ३० २०८३०७:१५
सोमवार, कार्तिक ३० २०८३०७:१५
  • images

    काठमाडौं । श्रद्धा, भक्ति र लोकआस्थाको महापर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै विधिवत् रूपमा सम्पन्न भएको छ।

    कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन्। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि सुरु भएको अन्तिम पूजाविधि बिहानको अर्घ्यसँगै पूरा भएको हो।

    पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखोनितो खाने ‘नहाय–खाय’ विधि पूरा गरेका थिए। दोस्रो दिन पञ्चमीका दिन दिनभर निराहार व्रत बसेर साँझ सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ सम्पन्न गरिएको थियो। त्यसपछि षष्ठीका दिन साँझ अस्ताउँदो सूर्य र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने कठोर व्रत सम्पन्न भएको हो।

    छठ पर्वमा पूजा सामग्री तयार गर्दा विशेष शुद्धता र पवित्रता अपनाउने परम्परा छ। ढिकी तथा जाँतोमा परम्परागत रूपमा कुटिएको गहुँ र चामलको पिठोबाट बनाइने ठकुवा, भुसुवा, विभिन्न मिष्ठान्न, माटोको भाँडोमा जमाइएको दही, उखु तथा मौसमी फलफूल सूर्यदेवलाई अर्पण गरिन्छ।

    सूर्यदेवको आराधना गर्नाले चर्मरोग निको हुने, सन्तान प्राप्ति, धनधान्य वृद्धि, पारिवारिक सुख, शान्ति तथा समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। आरोग्य, दीर्घायु र समृद्धिको कामनासहित मनाइने यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ।

    पहिले मुख्यतः तराई–मधेस क्षेत्रमा सीमित रहेको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी तथा सहरी क्षेत्रमा पनि व्यापक रूपमा मनाउन थालिएको छ। यसले विभिन्न समुदायबीच धार्मिक तथा सांस्कृतिक सद्भाव र एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ।

    चार दिनसम्म श्रद्धा, निष्ठा र कठोर अनुशासनका साथ मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend