काठमाडौं । नेपालको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंक लिमिटेड ९०औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले आजदेखि आफ्नो संस्थागत यात्राको ९०औँ वर्ष सुरु गरेको हो।
स्थापनाको समयमा ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ। बैंकको पछिल्लो वित्तीय विवरणअनुसार कुल नेटवर्थ ४२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
नेपालमा बैंकिङ सेवा सीमित रहेको र सर्वसाधारणमा बचत गर्ने संस्कृतिको विकास भइनसकेको अवस्थामा १० जना लगानीकर्ताको पहलमा सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार नेपाल बैंक स्थापना गरिएको थियो। स्थापनाकालदेखि नै बैंकले सर्वसाधारणलाई बैंकिङ सेवाको पहुँचमा ल्याउनुका साथै उद्योग, व्यापार तथा व्यवसायलाई वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ।
नेपाल बैंकको इतिहास नेपालको आधुनिक बैंकिङ प्रणालीको विकाससँग पनि जोडिएको छ। नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि नेपाल बैंकले केन्द्रीय बैंकको समेत भूमिका निर्वाह गरेको थियो। स्थापनाको झन्डै दुई दशकसम्म बैंकले देशको मौद्रिक तथा वित्तीय व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सम्हालेको थियो।
वि.सं. २००२ मा नेपाल सरकारले पहिलोपटक कागजी मुद्रा निष्कासन गर्दा पनि नेपाल बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। त्यसबेला वित्तीय कारोबार व्यवस्थित गर्ने, मुद्राको प्रयोग विस्तार गर्ने र बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास बढाउने काममा बैंकको योगदान रहेको थियो।
नेपाल राष्ट्र बैंक स्थापना भएपछि केन्द्रीय बैंकको जिम्मेवारी अलग भए पनि नेपाल बैंकले वाणिज्य बैंकका रूपमा आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयका अनुसार स्थापना कालदेखि नै निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल बैंक बैंकिङ क्षेत्रको पर्यायका रूपमा स्थापित भएको छ। उनले देशको आर्थिक तथा सामाजिक विकासमा बैंकले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
निक्षेप ४ खर्ब १६ अर्ब, कर्जा २ खर्ब ६२ अर्ब
नेपाल बैंकको पछिल्लो वित्तीय विवरणअनुसार बैंकको कुल निक्षेप ४ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा प्रवाह २ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ।
बैंकको जगेडा कोषमा २७ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। पूँजी पर्याप्तता अनुपात १३।६६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ४।१८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ६२।८५ प्रतिशत रहेको बैंकले जनाएको छ।
पछिल्लो तथ्याङ्कअनुसार बैंकका ग्राहक संख्या करिब २९ लाख २४ हजार पुगेको छ। बालबालिकादेखि युवापुस्ता, व्यवसायी, रोजगारीमा रहेका व्यक्ति तथा ज्येष्ठ नागरिकसम्म बैंकका सेवाग्राही रहेका छन्।
२३० शाखा, मोबाइल बैंकिङ प्रयोगकर्ता १० लाख
नेपाल बैंकले देशभर आफ्नो शाखा सञ्जाल विस्तार गर्दै वित्तीय सेवा सर्वसाधारणको पहुँचमा पुर्याउँदै आएको छ। हाल बैंकका २३० वटा शाखा र ५७ वटा विस्तारित काउन्टर सञ्चालनमा छन्। त्यस्तै, २५० वटा एटीएममार्फत ग्राहकलाई नगद कारोबारको सुविधा उपलब्ध गराइएको छ।
बैंकमा बाह्य स्रोतबाट सेवा लिइएका कर्मचारीसमेत गरी करिब ३ हजार ६०० कर्मचारी कार्यरत छन्।
पछिल्लो समय बैंकिङ सेवा प्रविधिमैत्री बन्दै जाँदा नेपाल बैंकले पनि डिजिटल बैंकिङलाई प्राथमिकता दिएको छ। बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या १० लाख पुगेको छ।
मोबाइल बैंकिङ तथा एटीएम सेवाको विस्तारले शाखामा उपस्थित नभई विभिन्न बैंकिङ कारोबार गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसबाट ग्राहकको समय र लागत बचत हुनुका साथै बैंकिङ सेवा थप सहज बनेको छ।

