२०८३, मंसिर ७ गते

  • समाचार
  • पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने,...

पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने, एलिमिनेटरमा काठमान्डु–चितवन

पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने, एलिमिनेटरमा काठमान्डु–चितवन

images
सीएनएन खबर
सोमवार, कार्तिक ३० २०८३०८:१३
सीएनएन खबर
सोमवार, कार्तिक ३० २०८३०८:१३
  • images

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को लिग चरणका खेल सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ। आइतबार भएको लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि काठमान्डु गोर्खाजले तेस्रो स्थानमा रहँदै लिग चरण टुंग्याएको छ। अब काठमान्डुले एलिमिनेटरमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डु १९.५ ओभरमा १६९ रनमै अलआउट भयो।

    काठमान्डुका लागि साहिल पटेलले सर्वाधिक ३४ रन बनाए। उनले २३ बलमा चार चौका र एक छक्का प्रहार गरे। रसिद खानले २० बलमा तीन चौका र दुई छक्कासहित ३१ रन बनाए। सोनु देवकोटाले १४ बलमा चार छक्का प्रहार गर्दै २९ रन जोडे। विलियम बोसिस्टोले २६ र जहानदाद खानले २४ रनको योगदान दिए।

    काठमान्डुको ब्याटिङ ध्वस्त पार्ने क्रममा पोखराका दिनेश खरेलले चार विकेट लिए। विपिन खत्रीले तीन विकेट हात पार्दा रमेश मेन्डिस, युवराज सम्रा र सन्नी विकले समान एक विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २२४ रनको विशाल योगफल तयार पारेको थियो।

    पोखराका कुशल भुर्तेल शतक बनाउन एक रनले चुके। उनले ५१ बलमा आठ चौका र आठ छक्काको मद्दतमा अविजित ९९ रन बनाए। अर्का ओपनर युवराज सम्राले ५५ बलमा आठ चौका र पाँच छक्कासहित ८९ रनको उत्कृष्ट इनिङ्स खेले।

    यी दुईबीचको उत्कृष्ट साझेदारीले पोखरालाई विशाल स्कोरसम्म पुर्‍याएको थियो। कप्तान चमिका करुणारत्ने १९ र धनञ्जय लक्षण दुई रनमा अविजित रहे। काठमान्डुका करण केसीले दुई तथा जहानदाद खानले एक विकेट लिए।

    पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम

    लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ। मंगलबार साँझ ५ बजे सुरु हुने उक्त खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ।

    पहिलो क्वालिफायरमा पराजित हुने टोलीले भने फाइनल प्रवेशको अर्को अवसर पाउनेछ। उसले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

    त्यस्तै, एलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोर्खाज र चौथो स्थानको चितवन राइनोज आमनेसामने हुनेछन्। एलिमिनेटरमा पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ।

    लिग चरणको अंकतालिका

    लिग चरणमा लुम्बिनी लायन्सले सात खेलबाट ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ। सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो, काठमान्डु गोर्खाज आठ अंकसहित तेस्रो र चितवन राइनोज सात अंकसहित चौथो स्थानमा रहे।

    विराटनगर किंग्स र कर्णाली याक्स समान ६ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहे। पोखरा एभेन्जर्सले अन्तिम खेलमा जित निकाल्दै चार अंकसहित सातौँ स्थानमा लिग टुंग्यायो। जनकपुर बोल्ट्स पनि चार अंकसहित आठौँ स्थानमा रह्यो।

    लिग चरणका खेल सकिएसँगै अब चार टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। लुम्बिनी र सुदूरपश्चिमसँग फाइनल पुग्न दुई अवसर छन् भने काठमान्डु र चितवनले उपाधि यात्रालाई कायम राख्न एलिमिनेटर जित्नैपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend