काठमाडौं । खगोलविद्हरूले अन्तरिक्षमा एउटा रहस्यमय अदृश्य पिण्ड फेला पारेका छन्, जसको अनुमानित भारले न्युट्रोन तारा र ब्ल्याक होलबिचको सीमाबारे स्थापित वैज्ञानिक मान्यतालाई चुनौती दिएको छ।
वैज्ञानिकहरूको एक टोलीले लार्ज स्काई एरिया मल्टी–अब्जेक्ट फाइबर स्पेक्ट्रोस्कोपिक टेलिस्कोप (लामोस्ट) र अपाचे पोइन्ट अब्जर्भेटरी ग्यालेक्टिक इभोल्युसन एक्सपेरिमेन्ट (अपोजी) बाट प्राप्त तथ्याङ्क विश्लेषण गर्दै एउटा रेड जायन्ट अर्थात् रातो दानव तारासँग रहेको अदृश्य साथी पिण्ड पहिचान गरेको हो।
‘J0008+0128’ नाम दिइएको उक्त बाइनरी प्रणालीमा अदृश्य पिण्डलाई प्रत्यक्ष रूपमा देख्न नसकिए पनि त्यसको गुरुत्वाकर्षण प्रभाव रातो दानव ताराको गतिमा स्पष्ट देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
‘साइन्स एड्भान्सेस’ जर्नलमा प्रकाशित अनुसन्धानअनुसार उक्त अदृश्य पिण्ड अत्यधिक भारी न्युट्रोन तारा हुन सक्ने सम्भावना छ। यसको अनुमानित पिण्ड सूर्यको भन्दा १.८ देखि २.८ गुणासम्म रहेको छ। सबैभन्दा उपयुक्त अनुमान भने २.२ सौर्य पिण्ड रहेको वैज्ञानिकहरूको भनाइ छ।
न्युट्रोन तारा र ब्ल्याक होलबिचको रहस्यमय सीमा
न्युट्रोन तारा विशाल ताराहरूको विस्फोटपछि बाँकी रहने अत्यधिक घनत्वयुक्त अवशेष हुन्। सामान्यतया यस्ता ताराको पिण्ड सूर्यको भन्दा करिब १.४ गुणा बढी हुन्छ। तर यति ठूलो पिण्ड करिब २० किलोमिटर व्यास भएको सानो गोलाकार क्षेत्रमा खुम्चिएर रहेको हुन्छ।
हालसम्म सूर्यको पिण्डभन्दा करिब २।५ गुणा बढी भार भएको न्युट्रोन तारा पुष्टि भएको छैन। अर्कोतर्फ, ब्ल्याक होलहरूको पिण्ड सामान्यतया सूर्यको भन्दा कम्तीमा पाँच गुणा बढी हुने गरेको पाइन्छ।
यसले गर्दा २.५ देखि पाँच सौर्य पिण्डको बीचमा न्युट्रोन तारा र ब्ल्याक होलबिचको एउटा रहस्यमय ‘मास ग्याप’ अर्थात् पिण्ड अन्तर देखिएको छ।
न्युट्रोन तारा कुन अवस्थामा ब्ल्याक होलमा परिणत हुन्छ भन्ने विषयमा वैज्ञानिकहरू अझै पूर्ण रूपमा स्पष्ट हुन सकेका छैनन्। ताराको भित्री भागमा अत्यधिक दबाब हुँदा पदार्थले कस्तो व्यवहार गर्छ भन्ने विषयले यसको अधिकतम पिण्ड निर्धारण गर्ने भए पनि त्यसको भौतिक प्रक्रियाबारे अझै अनुसन्धान जारी छ।
यस्तो अवस्थामा नयाँ पत्ता लागेको अदृश्य पिण्डले न्युट्रोन ताराको अधिकतम पिण्ड र ब्ल्याक होलको निर्माण प्रक्रियाबारे अध्ययन गर्न नयाँ आधार प्रदान गर्न सक्ने वैज्ञानिकहरूको विश्वास छ।
३.३ वर्षमा एकपटक परिक्रमा, वैज्ञानिक सिमुलेसनसमेत असफल
अनुसन्धानकर्ताहरूका अनुसार J0008+0128 प्रणालीमा रहेका दुई पिण्डले एकअर्कालाई करिब ३.३ वर्षमा एकपटक परिक्रमा गर्छन्। यी दुई पिण्डबीच तुलनात्मक रूपमा ठूलो दूरी रहे पनि तिनको कक्षीय मार्ग लगभग पूर्ण वृत्ताकार छ।
अदृश्य साथीबाट कुनै प्रकाश नदेखिएकाले त्यो सामान्य तारा नभएको निष्कर्षमा वैज्ञानिकहरू पुगेका हुन्। त्यसैले न्युट्रोन तारा यसको सम्भावित व्याख्यामध्ये प्रमुख बनेको छ।
तर यसको उच्च पिण्ड, लामो दूरी र लगभग वृत्ताकार कक्षको संयोजन सामान्य न्युट्रोन तारा भएको बाइनरी प्रणालीभन्दा फरक देखिएको छ।
सामान्यतया भारी न्युट्रोन ताराहरू आफ्ना साथी ताराको नजिक हुन्छन् र त्यहाँबाट पदार्थ तानेर आफ्नो पिण्ड बढाउन सक्छन्। तर नयाँ प्रणालीमा दुई पिण्डबीचको दूरी धेरै भएकाले त्यसरी पदार्थ स्थानान्तरण भएको सम्भावना न्यून देखिएको छ।
यसको उत्पत्ति कसरी भयो भन्ने पत्ता लगाउन अनुसन्धान टोलीले पृथक् बाइनरी प्रणालीका करिब तीन लाख वटा ‘पोजिडोन’ सिमुलेसन परीक्षण गरेको थियो। तर कुनै पनि सिमुलेसनले नयाँ प्रणालीको जस्तै पिण्ड र कक्षीय विशेषता भएको अवस्था देखाउन सकेन।
अनुसन्धानकर्ताहरूका अनुसार यो प्रणाली बन्न असम्भव भने छैन। तर यसको निर्माणका लागि असामान्य रूपमा प्रभावकारी साझा आवरण निष्कासन, न्युट्रोन ताराको उच्च जन्मपिण्ड र सुपरनोभाका क्रममा उत्पन्न हुने न्यून धक्का जस्ता विशेष अवस्था आवश्यक पर्न सक्छन्।
न्युट्रोन तारा मात्रै हो कि सानो ब्ल्याक होल ?
असामान्य विशेषता भए पनि अदृश्य साथी न्युट्रोन तारा नै हुन सक्ने सम्भावना बढी रहेको अनुसन्धान टोलीको निष्कर्ष छ।
यससँग मिल्दोजुल्दो अर्को उदाहरण ‘गाया एनएस१’ (Gaia NS1) हो। उक्त प्रणालीमा करिब दुई वर्षको कक्षीय परिक्रमा अवधि र सूर्यको भन्दा करिब १.९ गुणा बढी पिण्ड भएको सम्भावित न्युट्रोन तारा रहेको अनुमान गरिएको छ।
यद्यपि, व्ण्ण्ण्डंण्ज्ञद्दड प्रणालीमा अन्य सम्भावनालाई पनि पूर्ण रूपमा अस्वीकार गरिएको छैन। यो वास्तवमा दुईवटा साना पिण्ड र एउटा रातो दानवसहितको तीन पिण्ड भएको प्रणाली हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।
त्यस्तै, दुई साना पिण्ड आपसमा गाभिएर एउटा ठूलो पिण्ड बनेको वा अदृश्य साथी अत्यन्त सानो ब्ल्याक होल भएको सम्भावना पनि अध्ययनमा उल्लेख गरिएको छ। तर अहिलेसम्म यति कम पिण्ड भएको ब्ल्याक होल प्रत्यक्ष रूपमा फेला परेको छैन।
अनुसन्धानकर्ताहरूका अनुसार यस प्रणालीको थप अध्ययन र तथ्याङ्कले न्युट्रोन तारा तथा ब्ल्याक होलबिचको पिण्ड अन्तरबारे वैज्ञानिक बुझाइलाई थप स्पष्ट बनाउन सक्छ।
नयाँ खोजले अन्तरिक्षमा रहेका चरम गुरुत्वाकर्षणयुक्त पिण्डहरूको निर्माण र विकाससम्बन्धी विद्यमान वैज्ञानिक मोडेललाई पुनः परीक्षण गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ।

