काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयसम्बन्धी कागजात सर्वोच्च अदालतले झिकाउने आदेश दिएको छ। साथै, कार्कीले माग गरेको अन्तरिम आदेशका विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
सर्वोच्चले कार्कीलाई आईजीपीबाट हटाउने विषयमा मन्त्रिपरिषद्ले २०८३ कात्तिक १८ गते गरेको निर्णयको प्रमाणित प्रतिलिपिसहित सम्बन्धित अन्य कागजात महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको छ।
अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि विपक्षीका नाममा आदेश जारी गरेको छ। यस विषयमा दुवै पक्षलाई उपस्थित गराएर छलफल गर्ने प्रयोजनका लागि आगामी मंसिर ७ गतेको पेसी तोकिएको छ।
कार्कीले आफूलाई तत्काल प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश माग गरेका छन्। अदालतले विषयवस्तुको प्रकृति र संवेदनशीलतालाई ध्यानमा राख्दै रिटलाई अग्राधिकारसमेत दिएको छ।
सरकारले कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। केसीले सोही दिन दर्ज्यानी चिह्न लगाएर कार्यभार सम्हालेका थिए।
सरकारको उक्त निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा आफूलाई पदबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै सरकारको निर्णय तथा त्यसका आधारमा भएका सम्पूर्ण कामकारबाही बदर गर्न माग गरिएको छ।
आफूलाई पदबाट हटाउनुअघि कुनै सूचना नदिइएको, परामर्श नगरिएको, सहमति नलिइएको र स्पष्टीकरणसमेत नसोधिएको कार्कीको जिकिर छ।
सरकारले सुरुमा सञ्चारमाध्यमबाट आफूलाई हटाइएको जानकारी पाएको र पछि गृहसचिवको हस्ताक्षरमा पत्र प्राप्त भएको उनले रिटमा उल्लेख गरेका छन्। उक्त पत्रमा आफूलाई कात्तिक १८ गतेदेखि लागू हुनेगरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको उल्लेख थियो।
कार्कीका अनुसार नयाँ जिम्मेवारीले आफूलाई प्रहरी महानिरीक्षकको कमान्ड र जिम्मेवारीबाट अलग गरी सल्लाहकारको भूमिकामा मात्र सीमित गरेको छ। प्रहरी महानिरीक्षकसरह पारिश्रमिक र सेवा सुविधा दिने उल्लेख गरिए पनि त्यसले आफूलाई आईजीपी पदबाट हटाइएको सरकार स्वयंले स्वीकार गरेको उनको दाबी छ।
प्रहरी महानिरीक्षक पदबाट हटाउने निर्णयमा कुनै कानुनी आधार उल्लेख नगरिएको तथा आफ्नो कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतामाथि कुनै प्रश्न नउठाइएको पनि उनले जिकिर गरेका छन्।
कार्कीले सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी आफ्नो पदावधि कायम रहेसम्म प्रहरी महानिरीक्षककै जिम्मेवारीमा काम गर्न दिन परमादेश जारी गर्न सर्वोच्चसँग माग गरेका छन्।

