काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप बुधबार बिहान करिब ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डअन्तर्गत भैँसेमा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घुम्तीमा अनियन्त्रित भएको जिप सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो । दुर्घटनामा जिप चालकसहित १० जना घाइते भएका थिए ।
प्रहरीले तत्काल घटनास्थलबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो । अस्पतालमा उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

