काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। चितवनको घोप्टेभीरमा लगातार पहिरो खसिरहेको र सडकमा जोखिम बढेपछि पहिरो हटाउन आवागमन बन्द गर्ने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार शनिबारदेखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार सूचना जारी गर्दै पहिरो पन्छाउने तथा जोखिमयुक्त ढुंगा र माटो हटाउने कामका लागि सडक बन्द गर्न लागिएको जानकारी दिएका छन्।
सडक बन्द हुने अवधिमा नागढुंगा–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ। पहिरो हटाएर सडक सुरक्षित बनाएपछि मात्रै यातायात सञ्चालन नियमित गरिने प्रशासनले जनाएको छ।
घोप्टेभीरमा बिहीबार पहिरो खसेको थियो। त्यसयता पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउनसमेत कठिनाइ भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

