काठमाडौँ । नेपालले डेढ दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय उडानका लागि पश्चिमी क्षेत्रबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन। सन् २००९ देखि सञ्चालनमा रहेको महेन्द्रनगर हवाई मार्गलाई दुईतर्फी प्रयोग गर्न दिन नेपालले निरन्तर पहल गरे पनि भारतले अनुमति नदिँदा प्रस्ताव कार्यान्वयनमा आउन सकेको छैन।
पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीसँगै यो विषय पुनः चर्चामा आएको छ। भ्रमणअघि नेपाल र भारतबीच हवाई प्रवेश मार्गसम्बन्धी विषयमा अन्तिम चरणको वार्ता भइरहेको भए पनि केही प्राविधिक तथा सुरक्षा सर्तमा सहमति हुन नसक्दा निर्णय अन्योलमा छ।
नेपालले काठमाडौं–महेन्द्रनगर (एल–६२६) हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन प्रस्ताव गरेको छ। यसो भए पश्चिमी क्षेत्र हुँदै अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेश र बाहिरिने दुवै सुविधा उपलब्ध हुनेछ। तर, भारतले अघि सारेका केही सर्तमा नेपालले असहमति जनाएपछि सहमति जुट्न नसकेको वार्तामा सहभागी मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्।
नेपाली अधिकारीहरूका अनुसार भारतीय पक्षले बागडोगरा प्रवेश विन्दुबाट आफ्ना सैन्य विमानलाई समेत उडान अनुमति दिनुपर्ने प्रस्ताव गरेको छ। नेपालले भने उक्त मार्गबाट नागरिक विमानलाई मात्र उडान अनुमति दिन सकिने अडान राखेको छ। भारतीय पक्षको यो प्रस्ताव नयाँ भएकाले यस विषयमा दुई देशबीच थप छलफल भइरहेको स्रोतले जनाएको छ।
त्यस्तै, भारतीय हवाई क्षेत्रबाट नेपाल प्रवेश गर्ने विमानको उडान उचाइका विषयमा पनि दुई पक्षबीच मतभेद छ। भारतले ३९ हजार फिट उचाइ प्रस्ताव गरेको छ भने नेपालले त्यसलाई घटाएर करिब २९ हजार फिट कायम गर्नुपर्ने अडान राखेको छ।
नेपालले सन् २००९ नोभेम्बर १९ देखि सञ्चालनमा आएको एल–६२६ हवाई मार्गलाई दुईतर्फी बनाउन खोजेको हो। हाल यो मार्ग नेपालबाट बाहिरिने अन्तर्राष्ट्रिय विमानले मात्र प्रयोग गर्न पाउँछन्। भारतबाट नेपाल प्रवेश गर्ने विमानलाई भने यस मार्ग प्रयोग गर्ने अनुमति छैन।
पश्चिमी क्षेत्रबाट हवाई प्रवेश मार्ग उपलब्ध नहुँदा नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानले सीमित हवाई मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। यसले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान विस्तारमा चुनौती थपेको छ।
महेन्द्रनगर हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सके पश्चिमी नेपाल हुँदै अन्तर्राष्ट्रिय विमानको आवागमन सहज हुने र भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा समेत सहयोग पुग्ने नेपालको अपेक्षा छ।
नेपालले लामो समयदेखि उठाउँदै आएको यो विषय प्रधानमन्त्री शाहको भारत भ्रमणमा पनि प्राथमिकताका साथ प्रस्तुत गर्ने तयारी गरेको छ। तर, डेढ दशकभन्दा लामो समय बितिसक्दा पनि भारतसँग सहमति जुट्न नसक्दा पश्चिमी क्षेत्रबाट थप हवाई प्रवेश मार्ग सञ्चालन गर्ने नेपालको प्रयास अझै अधुरै छ।

