काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)को अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।
होटल मर्क्युरमा शुक्रबार आयोजित संघको ४०औँ वार्षिक साधारण सभाले रेग्मीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो। यसअघि संघको उपाध्यक्ष रहेका रेग्मीले अब अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।
संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन्। वाणिज्य बैंकका सीईओहरूबीच गत बुधबार भएको अनौपचारिक छलफलमा खनाललाई उपाध्यक्ष बनाउने सहमति जुटेको थियो।
नेपाल बैंकर्स संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने अभ्यास रहँदै आएको छ। यसअघि संघको अध्यक्षको जिम्मेवारी माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हाल्दै आएका थिए।

