काठमाडौँ । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
एपीका अनुसार रिपब्लिकन उम्मेदवार ट्रम्पले कम्तीमा २ सय ७७ इलेक्टोरल मत पाउने निश्चित भएको हो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ मतमध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति ह्यारिसले कम्तीमा २ सय १९ इलेक्टोरल मत प्राप्त गर्ने निश्चित भएको छ ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । यसपटकको चुनावमा निर्णायक ठानिएका सात ‘स्विङ स्टेट्स’हरू पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा ट्रम्पले क्लिन स्वीप गर्ने देखिएको छ ।

