काठमाडौँ । सरकारले समयमै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानी नगरेपछि डडेल्धुराका एक व्यवसायीले आत्महत्या गरेका छन् ।
जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्य समेत रहेका व्यवसायी डम्बरदेव भट्ट (सन्तोष) ले सरकारकै कारण आत्महत्या गरेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघले बुधबार एक विज्ञप्ती जारी गर्दै भट्टको मृत्युको जिम्मेवारी राज्यले नै लिनुपर्ने निचोड निकालेको छ ।
असार १५ गते डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ निवासी भट्टलाई घर नजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला पारिएपछि स्थानीय अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचा गर्न धनगढीस्थित सेती प्रादेशिक अस्पताल उपचारको क्रममा उनको निधन भएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय अन्तर्गतका ठेक्काहरूको भुक्तानी सम्बन्धित् कार्यालयहरूबाट नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थहरूलाई बताएको थाहा हुन आएको छ । व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिक रुपमा विक्षप्त भई ‘आत्मदाह’ गर्न सक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासंघले विगत केही महिना अघि देखि नै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएपनि हालसम्म कुनै सुनुवाई नभएको विदितै छ’, महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यस्तै, महासंघले असार मसान्त लागिसक्दा निर्माण व्यवसायीको झन्डै ४० अर्बभन्दा बढी रकम भुक्तानी बाँकी रहेको जनाएको छ । उक्त रकम बाँकी हुँदा समेत सरकारले भुक्ताीमा तदारुकता नदेखाएको महासंघले आरोप लगाएको छ ।

