काठमाडौँ । अख्तियार दुरपयोग अनुुसन्धान आयोगले बिहीबार छुट्टा छुट्टै ४ मुद्दा दायर गरेको छ । आयोगले विशेष अदालतमा पालिकामा भ्रष्टाचारदेखि नक्कली शैक्षिक योग्यतासम्मका मुद्दा दायर गरेको हो ।
कटहरीयाका ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले जारी गरेको सूचना अनुसार रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कटहरिया नगरपालिका–२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा गरेको भन्दा धेरै काम देखाएर उपभोक्ता समितिलाई भुक्तानी दिएको आरोपमा अख्तियारले मेयर, उपमेयर, नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेश प्रसाद यादव, कार्यापलिका सदस्य समिशबिक्रम शाह र मनोज प्रसाद जैसवाल, इन्जिनियर मो.मकसुद आलम, बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
काम भएको भन्दा ४७३.६० वर्गमिटर बढीमा फ्लोरिङ भएको देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर अजयप्रकाश, उपमेयर रीता देवी, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, कार्यपालिका सदस्यहरु समिशबिक्रम साह र मनोजप्रसाद जैसवाल निलम्बनमा परेका छन् ।
भेरी अस्पतालका रेडियोग्राफर आफैले राखे राजश्व रकम
आयोगले भेरी अस्पतालको रेडियोग्राफर (करार) पदमा कार्यरत खालिद अहमद सिद्दिकी विरुद्ध सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ ।
उनी विरुद्ध झुट्टा बिल भरपाई बनाई राजस्व रकम दाखिला नै नगरी आफैले राख्ने गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सेवाग्राहीबाट चेकजाँज तथा उपचारार्थ १२ हजार रुपैयाँ लिई अस्पतालको राजश्व खातामा जम्मा नगरेको भेटिएको थियो ।
आयोगले सिद्दिकीले बदनियत राखी अर्कौ व्यक्तिको सक्कलै बिलमा सेवाग्राहीको नाम सच्याई थपघट गरी लेखी सरकारी सार्वजनिक कागजात सच्याई नक्कली बिल बनाई दिई सेवाग्राहीबाट लिएको उक्त रकम अस्पतालको खातामा दाखिला नगरी हिनामिना गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग घुस लिने वडाअध्यक्ष र एजेन्ट विरुद्ध मुद्दा दायर
यस्तै, आयोगले सेवाग्राहीसँग घुस लिनका लागि एजेन्ट राख्ने चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष विरुद्द मुद्धा दायर गरेको छ ।
आयोगले गत जेठ १० गते काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष भाई कृष्ण तामाङ र एजेन्ट वडा नं. २ बस्ने धुर्व बहादुर कडायलाई सवाग्राहीसँग लिएको २ लाख रुपैयाँ नगद र २ लाखको चेक सहित नियन्त्रणमा लिएको थियो ।
आयोगले टोलीले चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने ध्रुव बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाईकृष्ण तामाङको निर्देशनमा घुस रकम मागेको भन्दै आयोगमा उजुरी गरेका थिए ।
उजुरीका आधारमा अख्तियारले उनीहरुलाई घुस रकमसहित बलम्बुस्थित नगरपालिका कार्यालयको गेट अगाडिबाट आयोगले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर अनुसन्धान पश्चात बिहीबार वडाअध्यक्ष र एजेन्ट विरुद्ध मुद्दा दायर भएको हो ।
इन्स्पेक्टरकै शैक्षिक प्रमाणपत्र नक्कली
आयोगले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकोले छानविन गरी कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, गुल्म नं. ४, नक्सालमा कार्यरत तत्कालीन प्रहरी निरीक्षक लोक बहादुर विष्टले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमिडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको आयोगले जनाएको छ ।
उनले २०५५ को कात्तिकमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुुक्त भएको अख्तियारले जनाएको छ ।

