काठमाडौँ । मेडिकल व्यवसायी दुुर्गा पैसाईंले बैंक विरुद्ध हालेको रिट खारेज भएको छ । बैंक ऋण नतिर्ने अभियान सञ्चालन गरेका उनले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको हो ।
उनले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले उक्त रिट खारेज गरेको हो ।
उक्त रिट खारेज भएसँगै अब बैंक तथा वित्तीय संस्थालाई ऋण असुलीको बाटो खुलेको हो । कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले दायर गरेको रिट खारेज भएपछि अब बैंकलाई ऋण असुल गर्ने बाटो खुलेको छ ।
प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए । पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका छन् ।
कुमारी बैंकको शाखा कार्यालय विर्तामोडसहित चार वटा बैंकलाई प्रतिवादी बनाएर २०८० असार ८ गते निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए । यो रिटमा इलाम इजलासले २०८० असार १० गते कारण देखाउ आदेश जारी गरेको थियो । १८ पटक पेशी चढेको यो रिटको सुनुवाइ ९ पटक स्थगित भएको थियो ।
मंगलबारको फैसलापछि भने बैंकलाई ऋण असुलीको बाटो खुलेको हो । प्रसाईंले ऋण नतिरे धितो लिलामीबाट बैंकले ऋण असुल गर्न सक्नेछन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका लागि दुर्गा प्रसाईंले चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।
प्रसाईंलाई बी एन्ड सी मेडिकल कलेज सञ्चालनका लागि गत चैतमा सर्वाेच्च अदालतले बाटो खोलिदिएको थियो ।

